सूचनाको शक्ति - The Power Of Information

        

राउटेलाई बाँडियो दशैंअघिको भत्ता

राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै गुराँस गाउँपालिका ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाका जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

भगवतिमाई गाउँपालिका १ बाबियातडामा बस्ने ४० घरधुरीका १४४ जनालाई शुक्रबार गुराँस गाउँपालिका–८ ले सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

दशैं अघि नै सामाजिक सुरक्षा भत्ता पाउने आसमा रहेका ती समुदायले दशैं सकिएपछि मात्र भत्ता प्राप्त गरेका हुन् । गुराँस गाउँपालिका–८ का वडा सचिव सुस्मिता खड्काले साउन, भदौ र असोजको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताइन् ।

उनले दशैंअघि नै राउटेलाई भत्ता वितरण गर्ने भए पनि दशैँको अन्तिम दिन मात्र वडामा बजेट आएपछि भत्ता वितरण गर्न ढिला भएको बताइन् । ‘दशैंको बिदा २३ गतेसम्म थियो बैङ्कहरूमा समेत ढिला खुल्यो त्यस कारण हामीले दशैं सकिएको चार दिनपछि भत्ता वितरण गरेका हौँ,’ उनले भनिन् ।

सङ्घीय सरकारले लोपोन्मुख राउटे समुदायलाई जनही चार हजार रुपैयाँ दिने गरेको छ । राउटे समुदायका शिक्षक लालबहादुर खत्रीले अघिल्लो आर्थिक वर्षमा सङ्घीय सरकारले तीन हजार र कर्णाली प्रदेश सरकारले दुई हजार गरी जनही पाँच हजार भत्ता दिएको भए पनि कर्णाली प्रदेश सरकारले पछि भत्ता दिन छाडेको बताए ।

उनले अघिल्लो आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले सात महिनाको एकमुष्ट भत्ता दिएको भए पनि पछि कटौती गरेको बताए । कर्णाली प्रदेशमा घुमन्ते जीवन बिताउने राउटे समुदाय गुराँस गाउँपालिका–८ का स्थायी बासिन्दा हुन् ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार १५:४०