सूचनाको शक्ति - The Power Of Information

        

मौसम परिवर्तनको असर स्वास्थ्यमा

भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित, डेङ्गुको त्रास

भाइरल ज्वरो र रुघाखोकीबाट बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् ।

भेरी अस्पताल नेपालगन्जमा उपचारका लागि आएका विरामीहरु । फाइल तस्वीर

केही दिनअघिको अविरल वर्षासँगै मौसम परिवर्तन हुँदा बाँके जिल्लाका विभिन्न बस्तीमा भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी बढ्दै गएका छन् । असोजको सुरुदेखि नै कहिले अत्यधिक गर्मी र कहिले वर्षा भएकाले ज्वरो बढेको बताइएको छ ।

केही दिनयताको अविरल वर्षाका कारण ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीको सङ्ख्या थप बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यही बेला डेङ्गुको प्रकोप बढेपछि भाइरल ज्वरो आएकाहरू डेङ्गुप्रति झन् त्रसित बनेका छन् । ज्वरो आउनसाथ डेङ्गु परीक्षण गराउनेहरू बढेको पाइएको छ ।

भाइरल ज्वरोबाट बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएको विभिन्न अस्पतालले जनाएका छन् । नेपालगन्ज र कोहलपुरका निजी तथा सरकारी अस्पतालमा केही दिनयता भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी आउने क्रम अत्यधिक बढेको र तीमध्ये बढी बालबालिका र वृद्धवृद्धा रहेका जानकारी चिकित्सकहरूले दिएका हुन् ।

भेरी अस्पतालका अनुसार उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने, सिँगान निस्कने र पखालासमेत लाग्ने लक्षण देखिने बिरामी ठूलो सङ्ख्यामा छन् । तीमध्ये अधिकांश बालबालिका र वृद्धवृद्धा छन् । भेरी अस्पतालमा मात्र दैनिक २०० देखि ३०० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका र तीमध्ये केहीमा डेङ्गु देखिएको अस्पतालका सूचना अधिकारी डा.सङ्केत रिसालले बताए ।

उनका अनुसार बालबालिका र वृद्धवृद्धामा बढी भाइरल ज्वरोको प्रकोप बढेको छ । अस्पताल र निजी स्वास्थ्य क्लिनिकमा ज्वरो र टाइफाइडका बिरामी आउने क्रम त्यत्तिकै बढेको छ । मौसम परिवर्तन, दूषित पानी, सरसफाइ र खानपानमा उचित ध्यान नपु–याउँदा भाइरल ज्वरोका बिरामी बढेको दाबी चिकित्सकहरूको छ । भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्म आफैँ निको हुने भए पनि डेङ्गुप्रति सचेत रहनुपर्ने सुझाव चिकित्सकहरूको छ ।

नेपालगन्ज मेडिकल कलेजका सहनिर्देशक डा.रोमन किदवाईले भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका दैनिक ५० देखि १०० जनासम्म बिरामी उपचारका लागि आउने गरेको बताए । वरिष्ठ बालरोग विशेषज्ञ डा.सकिल अहमदले नेपालगन्ज क्षेत्रमा सयौँ बालबालिकामा भाइरल ज्वरो फैलिएको जानकारी दिए । आफ्नो क्लिनिकमा मात्र ३० देखि ५० जनासम्म बालबालिका उपचारका लागि आउने गरेको उनले बताए ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार १४:३५