सूचनाको शक्ति - The Power Of Information

        

बर्षाको कहर

राहतको पर्खाईमा कर्णालीका बाढीपहिरो पीडित

यतिठूलो विपदमा सरकार बेखबर बनेको कालिकोटका बाढीपहिरो प्रभावितहरूको गुनासो छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ का चन्द्र बुढाको घर पहिरोले पुरेपछि उनको ६ जनाको परिवार नजिकैको विद्यालयमा आश्रय लिइरहेको छ । बुढाले भने, ‘पहिरोले घरसँगै भएको जायजेथा नै गुम्यो,’ उनी भन्छन्, ‘मुस्किलले बाँचेर विद्यालयमा बसेका छौँ ।’

उनले आफ्नो परिवार केही दिनदेखि नजिकैको विद्यालयमा बसिरहेको र आफूहरूलाई खाना बस्न निकै समस्या भएको दुखेसो गरे । बुढाको परिवारसँगै विद्यालयमा अन्य परिवारले पनि आश्रय लिइरहेको र कुनै निकायबाट राहत पाउन सकेका छैनन् । पहिरोका कारण धेरै घरहरूमा क्षति पुगेको छ ।

केही दिन पहिलेको वर्षाले पहिरो खस्दा जुम्लामा मात्रै १० जनाको मृत्यु भएको छ भने एक हजार बढी नागरिक प्रभावित बनेको स्थानीय प्रशासनले जनाएको छ । कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले गाउँभरी पहिरोले नोक्सान गरेको बताए । यो पालिकामा प्रदेश सरकारले राहत स्वरूप कम्मल र पालहरू बाँडेको छ ।

हेलिकोप्टरमार्फत पुर्याइएको राहत अपुग भएको स्थानीयको भनाइ छ । जुम्ला र कालीकोटमा बाढी र पहिरोका कारण सबैजसो ग्रामीण सडक पनि अवरुद्ध छन् । जसले गर्दा राहत सामग्री वितरणमा समेत समस्या भइरहेको छ । कालीकोटमा पहिरोका कारण ६ जनाको मृत्यु भएको छ भने १७ जना अहिले पनि सम्पर्कविहीन छन् ।

कालिकोटमा प्राकृतिक विपत्तीबाट करिब तीन हजार नागरिक पूर्णरूपमा प्रभावित भएका छन् । त्यहाँ १६५ घर पूर्ण क्षति भएको प्रहरीको विवरण छ । प्रभावित मानिसहरू विद्यालय, छिमेकीको घर र सार्वजनिक ठाउँमा कष्टकर रूपमा बसेका छन् । यतिठूलो विपदमा सरकार बेखबर बनेको कालिकोटका बाढीपहिरो प्रभावितहरूको गुनासो छ ।

तिलागुफा नगरपालिकाका धर्मराज शाहीले सरकारले विपद्को बेला आफ्नो उपस्थिति नदेखाएको भन्दै आक्रोश पोखे । ‘प्रदेश सरकारले एक दिन हेलिकोप्टरमा केही थान त्रिपाल पठायो । बाढी पहिरो प्रभावित परिवारहरूलाई गासबासको समस्या छ । यस्तो समयमा पनि कुनै सरकार र सरकारी निकाय गम्भीर बनेको देखिएन,’ उनले भने ।

स्थानीय सरकारले भने पीडित परिवारको व्यवस्थापनमा सक्दो सहयोग गरिरहेको उनले जनाए । पहिरोमा परेर तिलागुफा नगरपालिकामा मात्रै चार जनाको मृत्यु भएको छ । जिल्लामा पहिरोमा परेर बेपत्ता भएका १६ जना यसै पालिकाका हुन् । जसमध्ये १३ जना मलामी गएकाहरू हुन् ।

मलामीको लस्करमाथि पहिरो खस्दा अकल्पनीय जनधनको क्षति भएको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए । सञ्चार सम्पर्कसमेत बिच्छेद भएकाले केही वडाहरूबाट क्षतिको विवरण अझै आउन नसकेको उनले बताए । उनका अनुसार यहाँ २७० घरपरिवार विस्थापित भएका छन् ।

‘हामीले स्थानीयस्तरमा उपलब्ध केही राहत सामग्री वितरण गरेका छौँ । प्रदेश सरकारले पठाएको राहत निकै थोरै छ,’ उनले भने, ‘मौसम र भूगोलका कारण समयमै राहत पुर्याउन पनि चुनौती छ ।’ संघीय सरकार र प्रदेश सरकारसँग हेलिकोप्टरमार्फत भए पनि खाद्यान्न वितरणका लागि पहल थालिएको स्थानीय सरकारले जनाएको छ ।

‘समयमै राहत पुर्याउन चुनौती हुँदाहुँदै पनि हामी गम्भीर भएर मानविय कार्यमा जुटिरहेका छौं,’ उनले भने । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले हेलिकोप्टरमार्फत केही ठाउँमा राहत पुर्याएको र अन्य ठाउँमा पनि पठाउने कार्य भइरहेको बताए ।

उनका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने त्रिपाल, लत्ताकपडा, औषधि लगायतका सामग्री पठाइएको छ । खाद्यान्न सामाग्री सम्बन्धीत जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराउने र मन्त्रालयबाट भुक्तानी गर्ने गरी प्रबन्ध मिलाइएको कानुनमन्त्री शाहीको भनाइ छ ।

सात हजार नागरिक प्रभावित

कर्णाली प्रदेशमा गतसाता भएको वर्षाले ठूलो जनधनको क्षति भएको छ । कर्णालीका झन्डै करिब सात हजार नागरिक प्रभावित भएका छन् । ४०० घरधुरी अहिले पनि बाढी र पहिरोको उच्च जोखिममा छन् । कर्णाली प्रदेशमा गतसाता मात्रै बाढी तथा पहिरोमा परेर ३६ जनाले ज्यान गुमाएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार कर्णाली प्रदेशमा अझै २० जना अझै बेपत्ता छन् भने २७ जना घाइतेको उपचार भइरहेको छ । प्रदेशका विभिन्न जिल्लामा घरहरूमा क्षति हुँदा सयौँको संख्यामा परिवारहरू विस्थापित भएका छन् । असोज १९ गतेदेखि आएको बाढीपहिरोका कारण कर्णाली राजमार्ग तथा कतिपय सहायक सडकहरू अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैन ।

पहिरोले दर्जनौं स्थानमा राजमार्ग अवरुद्ध भएपछि राहत र उद्धारमा पनि कठिनाइ भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेशका सबैजसो जिल्लामा बाढी र पहिरोले घरबास गुमाएका नागरिकहरू राहतको प्रतिक्षामा छन् । पहिरोमा परेर बेपत्ता भएकाको खोजी र घाइतेको उपचारमा खासगरी प्रदेश र संघीय सरकारले चासो नदिएको बाढी र पहिरो प्रभावित नागरिकहरूको गुनासो छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार १३:१७