सूचनाको शक्ति - The Power Of Information

        

बर्षाको कहर

सोनवर्षामा सिक्टाको बाँध भत्किएपछि नरैनापुरबासी त्रासमा

नरैनापुर गाउँपालिकाको सोनबर्षामा भत्किएको सिक्टा सिचाइँ आयोजनाको बाँध तत्काल मर्मत गर्न स्थानीयले माग गरेका छन् ।

करिब एक साताको अविरल वर्षाका कारण आएको बाढीले नरैनापुर गाउँपालिकाको सोनवर्षामा भत्काएको बाँध तत्काल मर्मत गर्न स्थानीयले माग गरेका छन् ।

सो बाँधलगायत नरैनापुर क्षेत्रमा आएको बाढी र डुबानको स्थलगत निरीक्षण गर्न नरैनापुर पुगेका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीसहितको टोलीसँग पीडित स्थानीयले सो माग गरेका हुन् ।

राप्तीसोनारी गाउँपालिका वडा नं. ७ र नरैनापुर गाउँपालिकाको वडा नं. ६ मा सिक्टाले बनाएको बाँध भत्किएर गाउँहरूमा बाढी छिरेपछि स्थानीयहरू त्रसित बनेका छन् । बाँध भत्किएकाले थप वर्षा भएमा सो क्षेत्रमा ठूलो क्षति हुने सम्भावना रहेकाले बाँध तत्काल मर्मत गर्न माग गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।

राप्तीसोनारी र नरैनापुरका नागरिकले बाढी, डुबान र कटानको समस्या झेल्दै आएको जानकारी गराउँदै दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरेको उनले जानकारी दिए । जनप्रतिनिधि र स्थानीय बासिन्दाको माग सुनेर अवलोकन गर्न पुगेका प्रजिअ खत्रीले तत्काल बाँधको तटबन्ध मर्मत र निर्माण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीयहरूसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी खत्रीले नरैनापुरको अवस्था दर्दनाक रहेकाले गृह मन्त्रालयमार्फत बाढी प्रभावितहरूको समस्या समाधानका लागि पहल गर्ने बताए । सिक्टाले बनाएको बाँध पूर्णरुपमा फुटेको खण्डमा ठूलो मानवीय क्षति हुनसक्ने भएकाले सो बाँध मर्मतका लागि प्राविधिक तत्काल खटाउनु पर्ने अधिकांश स्थानीयको माग छ । बाढी र डुबानका कारण नरैनापुरमा तीन हजार घरधुरी बाढी तथा डुबानबाट पीडित भएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार १९:५४