नवौँ राष्ट्रिय खेलकुदको औपचारिक शुभारम्भ कार्यक्रम पर्यटकीय नगरी पोखरामा सुरु भएको छ ।
सत्यपाटी । पोखरा ।
नेपाली खेलकुदको सबैभन्दा ठूलो घरेलु महाकुम्भ नवौँ राष्ट्रिय खेलकुदको औपचारिक शुभारम्भ कार्यक्रम पर्यटकीय नगरी पोखरामा सुरु भएको छ । राष्ट्रिय खेलकुद ३९ वर्षपछि पोखरा फर्किएको हो ।
यसअघि २०४० सालको दोस्रो संस्करण तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र (पोखरा)ले आयोजना गरेको थियो । देश सङ्घीय संरचनामा गएपछि गण्डकी प्रदेशले पाएको यो पहिलो अवसर हो । प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारले ६० करोड रुपैयाँ बजेट दिएको छ ।
प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । कार्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समापन भने प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न राखेपले यसअघिकै विभिन्न १४ वटा समिति तय गरेर तयारी गरेको थियो । गण्डकी प्रदेशका आठ जिल्लाहरूमा सञ्चालन हुन लागेको प्रतियोगितामा विभिन्न ३६ र दुई प्रदर्शनी खेलमा प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगितामा देशभरबाट ६ हजार १५७ खेलाडीले ४०४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दैछन् । यसैगरी ४०४ नै रजत र ६०१ कांस्य पदकका लागि समेत ११ टोलीका खेलाडीबीच बलियो भिडन्त हुनेछ ।
प्रतियोगितामा सहभागी ११ टोलीहरूमा सात प्रदेश, विभागीय टोलीको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) रहेका छन् । यसअघि राखेपले राष्ट्रिय खेलकुदका लागि प्रत्येक टोलीका लागि व्यक्तिगत र समूहमा गरी सहभागी खेलाडीको कोटा सङ्ख्या ७०९ जना तोकेको थियो ।
जसमा ३७४ पुरुष र ३३५ महिला खेलाडीको पूर्ण कोटा निर्धारण गरिएको थियो । तर, नवौँको फितलो व्यवस्थापन र खेलाडी छनोटमै अल्झन आएका कारण सबै टोलीले पूर्ण कोटामा खेलाडी सहभागी गराउन सकेका छैनन् ।
नवौँमा सबैभन्दा बढी सङ्ख्यामा खेलाडी आयोजक गण्डकी प्रदेशले मैदानमा उतार्दैछ । गण्डकीबाट ७०६ जना खेलाडीले ३६ खेलमै प्रतिस्पर्धा गर्दैछन् । गण्डकीपछि सर्वाधिक खेलाडी आर्मीले सहभागी गराउँदैछ । ३६ वटै खेलमा भाग लिन लागेको आर्मीले ६६८ जना मैदानमा उतार्दैछ ।
त्यसपछि बागमती प्रदेशले ३६ खेलका लागि ६५६ जना, प्रदेश–१ ले ३५ खेलमा ६८४ जना, सुदूरपश्चिमले ३२ खेलमा ६१८ जना, एपीएफले ३१ खेलमा ५५८ जना, नेपाल पुलिस क्लबले २९ खेलमा ५८७ जना र मधेश प्रदेशले २८ खेलमा ५४५ जना खेलाडी सहभागी गराउँदैछ ।
यसैगरी लुम्बिनीले ३५ खेलमा ३४८ जना, कर्णाली प्रदेशले ३० खेलमा ५०३ जना र एनआरएनएले १७ खेलमा ११६ जना प्रतिस्पर्धा गराउँदैछ । नवौँ अन्तर्गत पुरुष क्रिकेट एक महिनाअघि नै सम्पन्न भइसकेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल टी–२० फ्रेन्चाइज लिगको बहानाका एक महिनाअघि गरेको क्रिकेट प्रतियोगितालाई वर्षाले बिथोलेको थियो । काठमाडौँको कीर्तिपुर र मुलपानी मैदानमा भएको पुरुष क्रिकेटमा उपाधिको दाबेदार मानिएको बागमती प्रदेश र एपीएफ क्लब पानीका कारण समूहका खेल खेल्न नपाई बाहिरिएका थिए ।
सत्यपाटी । पोखरा ।