निर्वाचन आयोगको जटिल नियमका कारण महोत्तरीमा कर्तव्य ज्यान मुद्दा खेपिरहेका उम्मेदवारले पनि चुनाव लड्न पाउने भएका छन् ।
एमालेबाट महोत्तरी १ मा प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका लक्ष्मी महतो, क्षेत्र नम्बर ३ (क) मा अभिराम शर्मा र क्षेत्र नम्बर ४ (ख) बाट कौशलकुमार साहले निर्वाचनमा भाग लिन पाउने भएका हुन् ।
निर्वाचन आयोगले दिएको समयसीमाभित्र उनीहरूविरुद्ध कुनै उजुरी नपरेको हुनाले उम्मेदवारी खारेजी नभएको जिल्ला निर्वाचन कार्यालय प्रमुख सुवोधकुमार महतोले जानकारी दिए ।
निर्वाचन आयोगले उम्मेदवारविरुद्ध उजुरी गर्न कुनै उम्मेदवार वा उसको प्रतिनिधिलाई मात्र निर्धारण गरेको छ । गैर उम्मेदवार वा प्रतिनिधिले उजुरी हाले उक्त उजुरी नलिने निर्वाचनन आयोगले नियम बनाएको छ ।
‘तर प्रतिनिधिसभामा मनोनयन दर्ता गराएका पाटी वा स्वतन्त्र उम्मेदवारले मतदातासमक्ष गलत सन्देश नजाओस् भन्ने उद्देश्यले उजुरी नहालेको हुनसक्छ,’ स्थानीय अकंज थापाले भने ।
जसपाबाट मनोनयन दर्ता गर्नुभन्दा एक दिनअघि मात्र एमाले प्रवेश गरेका लक्ष्मी महतोसहित तीनै जनालाई मधेस आन्दोलनको समयमा असई थमन बिकको हत्या गरेको आरोप छ ।
असई विकको हत्यामा संलग्न रहेको आरोपमा विशेष गरी लक्ष्मी महतोलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो तर शक्तिको आडमा उनी अझै अदालतको सम्पर्कमा छैनन् ।
उच्च अदालत जनकपुरका न्यायाधीश पुष्पराज कोइराला र प्रभा बस्नेतको संयुक्त इजलासले महतोलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न १९ मंसिर २०७७ मा आदेश दिएको थियो ।
जिल्ला अदालत महोत्तरीका न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलासले लक्ष्मी महतोबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ बमोजिम एक लाख रुपैयाँ नगद धरौटी लिई २०७६ असोज २ गते तारेखमा राख्ने आदेशलाई उच्च अदालतले पल्टाएर पुर्पक्ष गर्न आदेश दिएको हो ।
तत्कालीन सद्भावना पार्टीका केन्द्रीय सदस्यसमेत रहेका महतो यसअघिको निर्वाचनमा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरमबाट उठेका थिए । उनी माओवादी केन्द्रका गिरिराजमणि पोखरेलसँग पराजित भएका थिए ।
फौजदारी अभियोग लागेका व्यक्तिहरूलाई टिकट दिएर दलहरूले कानुनको धज्जी उडाएको टिप्पणी भएको छ । ज्यान मुद्दा जस्तो जघन्य अपराधको मुद्दा खेपिरहेकालाइ टिकट दिएर दलहरूले अपराधको संरक्षण गरेको आरोप छ ।
‘लक्ष्मी महतो, अभिराम शर्मा, कौशल साहजस्ता व्यक्तिहरुलाई पार्टीले टिकट दिनु नै अपराधको संरक्षण गर्नु हो,’ स्थानीय माधव पौडेलले भने । एमालेले मनोनयन दर्ता गर्नुभन्दा एकदिन अगाडि मात्र महतोलाई प्रवेश गराएर टिकट प्रदान गरेको थियो ।
महतो समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा लक्ष्मी महतोलाई टिकट दिए निर्वाचन जित्ने एमालेको योजना छ । महतो मधेस आन्दोलनको समयमा सदभावना पार्टीका केन्द्रीय सदस्य थिए । अघिल्लो निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम रोजे । जसपा हुँदै महतो एमाले प्रवेश गरेका छन् ।
न्युज कारखाना
सत्यपाटी । महोत्तरी ।