सूचनाको शक्ति - The Power Of Information

        

कमजोर बन्दै नेपाली रुपैयाँ, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

अमेरिकी डलरको मूल्यमा लगातार उकालो लागेको छ । डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ ।

विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमय दर रहेको छ ।

अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो । यसले नेपाली मुद्रालाई थप कमजोर बनाएको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रीदर १३२ रुपैयाँ छ पैसा तय गरिएको छ ।

त्यस्तै युरोको खरिद मूल्य १२७ रुपैयाँ ७७ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ ३५ पैसा रहेको छ । पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने देखिएको छ ।

विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा भने डलर बलियो बन्दा अर्थतन्त्रमा सकारात्मक असर रहन्छ । तर, नेपालको वैदेशिक व्यापारमा निर्यातका तुलनामा आयात उच्च हुँदा त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ ।

जसले शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिमा समेत नकारात्मक असर पार्छ । त्यस्तै डलरको भाउ बढ्ने वित्तिकै आयात हुने विदेशी सामानको मूल्य बढ्ने, इन्धनको मूल्य बढ्न सक्ने, नेपालले लिएको विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको भाउ बढेसँगै बढ्ने हुन्छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार १६:०६