सूचनाको शक्ति - The Power Of Information

        

आम निर्वाचन–२०७९

कर्णाली प्रदेशबाट ३६ सिटमा १९० जना प्रतिस्पर्धामा

कर्णालीबाट प्रतिनिधिसभाका १२ सिटमा ७४ जना र प्रदेशसभामा २४ सिटका लागि ११६ जना चुनावी मैदानमा उत्रिएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावको लागि कर्णालीबाट ७४ जना उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन् ।

१० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र रहेका छन् । १२ सिटका लागि ७४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका हुन् । जसमध्ये २–२ वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सबैभन्दा बढी १७ जना उम्मेदवार बनेका छन् ।

दैलेखमा १३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । यस्तै सल्यानमा ७, डोल्पामा ५ मुगुमा ५, जुम्ला ५, कालिकोटमा ७, जाजरकोटमा ६, रुकुम पश्चिममा ६ प्रतिनिधि सभाको लागि मैदानमा छन् ।

यस्तै हुम्लामा भने सबैभन्दा कम ३ जना मात्रै उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । यस जिल्लामा गठबन्धनबाट साझा उम्मेदवारको रुपमा माओवादी, एमाले र राप्रपाका उम्मेदवार रहेका छन् । यस्तै १० जिल्लामा १३ जना स्वतन्त्र उम्मेदवारहरू रहेका छन् ।

यस्तै प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेशसभा सदस्य पदका लागि ११६ जना चुनावी मैदानमा उत्रिएका छन् । जसमध्ये सबैभन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्दैछन् भने सबैभन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार छन् ।

सुर्खेत र दैलेखमा ४–४ वटा निर्वाचन क्षेत्र रहेका छन् भने बाँकी जिल्लामा २–२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेतपछि दैलेखमा २०, सल्यानमा ११, कालिकोट र हुम्लामा १०–१० जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

यस्तै डोल्पामा ७, मुगुमा ८, जुम्लामा ८, जाजरकोट ७ जना उम्मेदवार रहेका छन् । यस्तै प्रदेश सभा सदस्य पदका लागि १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन आयोगको अन्तिम नामावलीमा प्रकाशित तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार ०८:३५