सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा निर्वाचन–२०७९

बाँकेमा एमालेलाई छैन सहज, बर्दियामा सत्ता गठबन्धनको घेराबन्दी

बाँके र बर्दियामा एमालेलाई घेराबन्दी गर्ने सत्ता गठबन्धनको तयारी छ ।

प्रतिनिधिसभा अन्तर्गत तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा नेकपा एमालेले दुई वटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारी दिएको छ । बाँकी एक क्षेत्रमा एमालेले सहयोगी घटकलाई सघाउने भएको हो । यद्यपि, एमालेसँग विभिन्न सिटमा तालमेल गरेका राप्रपा र जसपा दुवैले बाँके–२ मा एमालेको सहयोगको अपेक्षा गरेका छन् ।

क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट सूर्यप्रसाद ढकाल उम्मेदवार छन् । सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महेश्वरजंग गहतराज (अथक) उम्मेदवार छन् । यहाँ जनता समाजवादी पार्टीबाट रामकुमार यादव, नेपाल मजदुर किसान पार्टीबाट नवीनकुमार शाही र लोकतान्त्रिक समाजवादी पार्टीबाट रामचरण चौधरी उम्मेदवार बनेका छन् ।

क्षेत्र नम्बर १ बाटै नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीबाट उब्जङ शाही, नागरिक उन्मुक्ति पार्टीबाट सुरेशकुमार चौधरी, नेपालका लागि नेपाली पार्टीबाट भक्तबहादुर थापा मगर, नेपाली कांग्रेस (बीपी)बाट कुन्ती शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आनन्दबाबु काफ्ले उम्मेदवार छन् । यहाँ प्रदिपकुमार शाहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यस्तै बाँके–२ मा नेपाली कांग्रेसका सुदीप नरसिंह राणा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका छन् । एमालेसँग अन्यत्र तालमेल गरेका जसपा नेपाल र राप्रपा नेपालले यहाँ आफ्ना उम्मेदवार खडा गरे पनि एमालेले उम्मेदवारी दिएको छैन । यस क्षेत्रमा जसपा नेपालबाट मोहम्मद इश्तियाक राई उम्मेदवार छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशम्मशेर राणा उम्मेदवार छन् ।

राई २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट निर्वाचित भएका थिए भने राणा २०७४ को स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीबाट वखतबहादुर थापा, लोकतान्त्रिक समाजवादी पार्टीबाट अव्दुल हन्नान जसगढ र जनमत पार्टीबाट बाबु खाँले उम्मदवारी दिएका छन् ।

क्षेत्र नम्बर २ बाटै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रमेश शर्मा अर्याल, राष्ट्रिय जनमुक्ति पार्टीबाट बिधा शर्मा, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)बाट खलुप्रसाद थारु, जनसमाजवादी पार्टी नेपालबाट लिलौ दर्जी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिनोदकुमार अग्रहरि उम्मेदवार छन् ।

बाँके–२ मा दिवाकर खनाल, बागेश्वर चौलागाई, राहुल जयसवाल, इरफान अहमद शेख र समसुल हक राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् । बाँके–३ मा नेकपा एमालेबाट किस्मतकुमार कक्षपति उम्मेदवार छन् भने सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका किशोरसिंह राठोरले उम्मेदवारी दिएका छन् ।

यस्तै, जनता समाजवादी पार्टी नेपालबाट नोयन्द्र धिताल, नेपाल मजदुर किसान पार्टीबाट नगेन्द्रबहादुर बुढाक्षेत्री, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट हफिज पठान, जनमत पार्टीबाट राजुप्रसाद कुर्मी, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)बाट वीरबहादुर ओली क्षेत्री, नेपाली कांग्रेस (बीपी)बाट दुर्गाबहादुर घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवेन्द्र नाथ शुक्ला उम्मेदवार छन् ।

बर्दियामा एमालेलाई सत्ता गठबन्धनको घेराबन्दी

प्रतिनिधिसभा अन्तर्गत दुई निर्वाचन क्षेत्र रहेको बर्दियामा सत्ता गठबन्धनभित्र क्षेत्र नं.१ कांग्रेस र क्षेत्र नं.२ मा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिनेगरी भागवण्डा भएको छ । सोही अनुसार एमालेलाई घेराबन्दी गर्नेगरी क्षेत्र नं.१ मा गठबन्धनबाट कांग्रेसका संजयकुमार गौतमले उम्मेदवारी दिएका छन् । गौतम २०७४ को निर्वाचनमा पनि विजयी भएका थिए ।

उनीसँगको प्रतिस्पर्धामा नेकपा एमालेले लक्ष्मणराज ज्ञवालीलाई मैदानमा उतारेको छ । यस क्षेत्रमा जनता समाजवादी पार्टी नेपालबाट रेशमबहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सूर्यबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीबाट हरिलाल न्यौपाने र जनमत पार्टीबाट सोहराव पठानले उम्मदवारी दिएका छन् ।

यस्तै क्षेत्र नं.१ बाटै नागरिक उन्मुक्ति पार्टीबाट ठाकुरसिंह थारु, नेशनलिष्ट पिपल्स पार्टीबाट रामरतन थारु र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रवेश भुसाल उम्मेदवार छन् । यहाँ देवीप्रसाद तिवारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । क्षेत्र नं.२ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थ उम्मेदवार छन् । उनीसँगको प्रतिस्पर्धामा एमालेले पंकजसिंह राठौर उम्मेदवार बनेका छन् ।

यसै क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय रावल, नेपाल मजदुर किसान पार्टीका धर्मराज जैसी आचार्य, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अनिरुध्या आर्य, राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश बसौला पनि उम्मेदवार छन् । यहाँ रामप्रसाद आचार्य र लालविर चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका चौधरी भने टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीका पिता हुन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार ०८:२२