सूचनाको शक्ति - The Power Of Information

        

आम निर्वाचन-२०७९

बाँकेमा बढ्यो चुनावी चहलपहल

बाँकेमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरुले चुनाव केन्द्रित अभियानसहितका गतिविधिलाई तीव्र बनाएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनसँगै बाँकेमा चुनावी चहलपहल सुरु भएको छ ।

राजनीतिक दलहरुले निर्वाचन क्षेत्रस्तरमा भेला, बैठक र चुनाव केन्द्रित गतिविधि सुरु गरेका छन् भने स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रचारमा हिँडेका छन् ।

तीन सङ्घीय र छ प्रदेश निर्वाचन क्षेत्र रहेको बाँकेमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरुले चुनाव केन्द्रित अभियानसहितका गतिविधिलाई तीव्र बनाएका छन् ।

निर्वाचनलाई दृष्टिगत गरेर नेपाली कांग्रेसले पनि चुनावी योजना तयार गरेको कांग्रेस बाँकेका जिल्ला सभापति नारायण गौडेलले बताए ।

उनले गठबन्धनमा सहभागी दलहरुसँगको समन्वयमा बैठक गरी चुनावी गतिविधि सञ्चालनको तयारी गरेको उल्लेख गरे । जनता समाजवादी पार्टीले पनि निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ ।

बाँके क्षेत्र नं.२ बाट उम्मेदवार बनेका उक्त पार्टीका केन्द्रीय सचिव मोहम्मद इस्तियाक राहीको उपस्थितिमै निर्वाचन केन्द्रित भेला, बैठक र प्रचारप्रसार भइरहेको जिल्ला सचिव राजेन्द्र विश्वकर्माले बताए ।

निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले बाँकेले तीनवटै निर्वाचन क्षेत्रस्तरीय बैठक आयोजना गरी निर्वाचन परिचालन समिति गठन गरेर पार्टी अभियान र निर्वाचन लक्षित योजनासहित पार्टीका सबै तहलाई क्रियाशील बनाउन निर्देशन दिएको छ ।

जिल्लामा सत्ता साझेदार गठबन्धनबाट बाँके क्षेत्र नं १ मा माओवादीबाट युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, क्षेत्र नं २ मा कांग्रेसका सुदीपनरसिंह राणा र क्षेत्र नं ३ मा किशोरसिंह राठौर उम्मेदवार बनेका छन् ।

यसैगरी नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा गठबन्धनबाट क्षेत्र नं १ मा एमालेका सूर्य ढकाल, क्षेत्र नं २ मा राप्रपाका डा धवलशम्शेर राणा र क्षेत्र नं ३ मा एमालेका किस्मतकुमार कक्षपति उम्मेदवार बनेका छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा तीन प्रतिनिधिसभा र छ प्रदेशसभा गरी नौ सिटका लागि राजनीतिक दल र स्वतन्त्र रुपमा गरी ९९ जनाले उम्मेदवारी मनोनयन गरेर चुनावी प्रचारप्रसारमा लागेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार ०७:१८