गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार औपचारिक रूपमा सुरु हुँदैछ । पोखरा रंगशालामा विशेष समारोह गरी प्रतियोगिताको उद्घाटन हुनेछ ।
अपराह्न ४ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटन गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ्य भएपछि उपराष्ट्रपतिले उद्घाटन गर्न लागेका हुन् ।
उद्घाटन समारोहमा ओलम्पियन टिकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्ज्वलन गर्ने छन् । यससँगै मार्चपास, झाँकी प्रदर्शन, गीत, नाचगान लगायतको कार्यक्रम छ ।
प्रतियोगिताका अधिकांश खेल पोखरा रंगशालामा हुनेछ । प्रतियोगितामा ११ टिमका ६ हजार १५७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ४०४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
यस पटक विभागिय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मी सहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाउँदै छन् ।
यस पटक ३६ खेलका ४०४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ । केही खेल सुरु भइसकेका छन् ।
सत्यपाटी । काठमाडौं ।