कर्णाली प्रदेशका लागूऔषधको कुलतमा फस्ने ‘नयाँ पुस्ता’को संख्या दिनप्रतिदिन बढ्दो छ । लहलहै र बाध्यतामा परेर लागूऔषधको दलदलमा भासिन पुगेको ‘नयाँ पुस्ता’ उम्किन सकेको छैन । पढेलेखेका, उच्च घरानाका ‘नयाँ पुस्ता’ पनि कुलतमा फसेको पाइएको छ ।
खासगरी अध्ययन तथा अन्य रोजगारीको सिलसिलामा कर्णाली प्रदेशका विभिन्न पहाडी जिल्लाबाट प्रदेश राजधानी रहेको सुर्खेत जिल्लाको बसाइसँगै उनीहरु लागूऔषधको दलदलमा फसेको पाइएको छ । पढ्न वा कामको सिलसिलामा बजारमा आइपुगेका युवतीहरु कुलतमा फस्ने गरेका छन् ।
एक डोज लागूऔषधका लागि एकपटक यौन सम्बन्धका लागि तयार हुने युवती पनि रहेको सम्बद्धहरु बताउँछन् । यस्तो अवस्थामा पुगेकालाई ‘एडिक’ (नभई नहुने) भन्ने गरिन्छ । प्रायः यौनकर्मी युवतीले लागूऔषध सेवन गर्ने पाइएको छ । सेवन नगर्नेहरु पनि छिट्टै पैसा कमाउने लोभले लागूऔषधको कारोबारमा लागेको पाइन्छ ।
लागूऔषध कारोबारमा पनि महिला अगाडि नै छन् । उनीहरु लागूऔषध ओसारपसार गरिदिने वा सम्पर्कस्थल बनेर कारोबारमा सघाउने गरेको पाइन्छ । कर्णाली प्रदेशका पहाडी जिल्लाका महिलाहरु चरेस, अफिम बोकेर नेपालगन्ज झर्नु र यहाँका नयाँ पुस्ताका युवायुवतीहरुले कारोबार गर्नुलाई नौलो मानिदैन ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार सुर्खेतमा दैनिकजसो लागूऔषध कारोबारी पक्राउ पर्ने गरेका छन् । छोटो समयमा धेरै सम्पत्ती आर्जन गर्ने लोभमा लागूऔषधको गैरकानूनी कारोबार गर्ने क्रम बढ्दो छ । कर्णाली प्रदेशमा लागूऔषध प्रयोग र कारोबार पछिल्ला तीन वर्षमा बढ्दै गएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।
नयाँ पुस्ता अर्थात् युवायुवती नै बढी कारोबारमा संलग्न भएको पाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा लागूऔषध सहित २१ जनालाई नियन्त्रणमा लिइएको छ । लागूऔषध सेवन गर्नेको संख्या पनि बढ्दै जाँदा यसको कारोबार मौलाएको छ ।
‘गैरकानूनी काम गर्दा कारबाही हुन्छ भन्ने थाहा पाएर पनि लागूऔषध कारोबारीको संख्या बढेको छ । बेरोजगारी मुख्य समस्या हो, सरकारले रोजगारीमूलक कार्यक्रम ल्याउनुपर्छ,’ स्थानीय कर्णबहादुर कार्की भन्छन् । रोजगारीमूलक शिक्षाको कमीका कारण लागूऔषध दुव्र्यशनीमा ‘नयाँ पुस्ता’ फसेको अर्का स्थानीय हरिबहादुर कार्कीको भनाई छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६–०७७ मा १५० जना, आव.२०७७–०७८ मा १२३ जना, आव.२०७८–०८९ मा १७२ जना, आव.२०७९–०८० को तीन महिनामा ३८ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ परेका ८० प्रतिशत छिटो धन आर्जन गर्ने लोममा कारोबारमा संलग्न रहेको पाइएको छ ।
विशेषगरी नयाँ पुस्ता लागूऔषध प्रयोग तथा ओसारपसारमा संलग्न हुने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद श्रेष्ठले बताउँछन् । परिवार तथा अभिभावकको हेलचेक्र्याइँ र निगरानीको अभावमा ‘नयाँ पुस्ता’ लागूऔषधको लतमा फस्दै जान थालेको सूचना अधिकारी श्रेष्ठले बताए ।
प्रहरीका अनुसार लागू औषध ओसारपसारमा परिवारका सबै सदस्य नै संलग्न हुने गरेको पाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी श्रेष्ठ बताउँछन् । ‘क्षणिक समयमो रिस्क’ मोल्न सके धेरै आम्दानी हुने भएपछि कानूनी जोखिम मोलेरै भए पनि ‘नयाँ पुस्ता’ लागूऔषध कारोबारमा संलग्न हुने गरेको उनले बताए ।
प्रहरीका अनुसार नाइट्रोजेपाम ब्राउनसुगर, चरेस, अफिम, गाँजा, कोरेक्स, लगायतको लागूऔषधको बढी ओसारपसार हुने गरेको पाइन्छ । सूचना अधिकारी श्रेष्ठले लागूऔषध नियन्त्रमा प्रहरीले कडाई गरेको बताए । भारतीय सीमा नाकासँग जोडिएको लुम्बिनी प्रदेशको बाँके जिल्लाबाट लागूऔषध ओसारपसार धेरै हुने गरेको प्रहरीको तथ्यांक छ ।
सुरेश आचार्य । सुर्खेत ।