सूचनाको शक्ति - The Power Of Information

        

नवौं राष्ट्रिय खेलकुद : ३९३ स्वर्णका लागि ६ हजार १२ खेलाडीबीच प्रतिस्पर्धा

नेपाली खेलकुदको सबैभन्दा ठूलो घरेलु महाकुम्भ नवौं राष्ट्रिय खेलकुदको औपचारिक सुभारम्भ भोली शुक्रबार पर्यटकीय नगरी पोखरामा हुँदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार गरिने भए पनि अधिकांश खेलहरु अगाडि नै सुरु भइसकेका छन् ।

राष्ट्रिय खेलकुद ३९ वर्षपछि पोखरा फर्किएको हो । यसअघि २०४० सालको दोस्रो संस्करण तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र (पोखरा)ले आयोजना गरेको थियो । देश संघीय संरचनामा गएपछि गण्डकी प्रदेशले पाएको यो पहिलो अवसर हो ।

प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारले ६० करोड रुपैयाँ बजेट दिएको छ । प्रतियोगिताको शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक रुपमा उद्घाटन गर्नेछन् । यसअघि राष्ट्रिपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्ने भनिए पनि राष्ट्रपति भण्डारी अस्वस्थ रहेका कारण उपराष्ट्रपति पुनले उद्घाटन गर्ने भएका हुन् ।

कार्तिक ३ गतेसम्म संचालन हुने प्रतियोगिताको समापन भने प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न राखेपले यसअघिनै विभिन्न १४ वटा समिति तय गरेर तयारी गरेको थियो । राष्ट्रिय खेलकुदको सम्पूर्ण तयारी पूरा भएको समेत राखेपले जनाएको छ ।

गण्डकी प्रदेशका आठ जिल्लाहरुमा सञ्चालन हुन लागेको प्रतियोगितामा विभिन्न ३६ र दुई प्रदर्शनी खेलमा प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा देशभरबाट ६ हजार १२ खेलाडीले कूल ३९३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दैछन् । यसैगरी ३९३ नै रजत र ६०१ कांस्य पदकका लागि समेत ११ टोलीका खेलाडीबीच बलियो भिडन्त हुनेछ ।

प्रतियोगितामा सहभागी ११ टोलीहरुमा सात प्रदेश, विभागीय टोलीको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र गैरआवासीय नेपाली संघ (एनआरएनए) रहेका छन् । यसअघि राखेपले राष्ट्रिय खेलकुदका लागि प्रत्येक टोलीका लागि ब्यक्तिगत र समूहमा गरी सहभागि खेलाडीको कोटा संख्या ७०९ जना तोकेको थियो ।

जसमा ३७४ पुरुष र ३३५ महिला खेलाडीको पूर्ण कोटा निर्धारण गरिएको थियो । तर, नवौंको फितलो ब्यवस्थापन र खेलाडी छनोटमै अल्झन आएका कारण सबै टोलीले पूर्ण कोटामा खेलाडी सहभागी गराउन सकेका छैनन् । नवौंमा सबैभन्दा बढी संख्यामा खेलाडी आयोजक गण्डकी प्रदेशले मैदानमा उतार्दैछ ।

गण्डकीबाट ७०६ जना खेलाडीले ३६ खेलमै प्रतिस्पर्धा गर्दैछन् । गण्डकीपछि सर्वाधिक खेलाडी आर्मीले सहभागी गराउँदैछ । ३६ वटै खेलमा भाग लिन लागेको आर्मीले ६६८ जना मैदानमा उतार्दैछ । त्यसपछि बागमती प्रदेशले ३६ खेलका लागि ६५६ जना, प्रदेश–१ ले ३५ खेलमा ६८४ जना खेलाडी मैदानमा उतार्दैछन् ।

सुदूरपश्चिमले ३२ खेलमा ६१८ जना, एपीएफले ३१ खेलमा ५५८ जना, नेपाल पुलिस क्लबले २९ खेलमा ५८७ जना, मधेश प्रदेशले २८ खेलमा ५४५ जना, लुम्बिनीले ३५ खेलमा ३४८ जना, कर्णाली प्रदेशले ३० खेलमा ५०३ जना र एनआरएनएले १७ खेलमा ११६ जना प्रतिस्पर्धा गराउँदैछ । नवौं अन्तर्गत पुुरुष क्रिकेट एक महिनाअघि नै सम्पन्न भइसकेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० फ्रेन्चाइज लिगको वहानाका एक महिनाअघि गरेको क्रिकेट प्रतियोगितालाई वर्षाले विथोलेको थियो । काठमाडौंको कीर्तिपुर र मुलपानी मैदानमा भएको पुरुष क्रिकेटमा उपाधिको दावेदार मानिएको बगमती प्रदेश र एपीएफ क्लब पानीका कारण समूहका खेल खेल्न नपाई बाहिरिएका थिए । जसमा पुरुष क्रिकेटको स्वर्ण पुलिसले जितेको थियो । फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी आर्मी क्लबलाई आठ विकेटले हराएको थियो । पुलिसको उक्त पदक नवौंको पहिलो स्वर्ण पदक पनि हो ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार १७:५२