‘एकताबद्ध देश, खेलकुदको सन्देश’को शान्ति र राष्ट्रिय भावसहित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा शुक्रवारदेखि औपचारिक शुरू हुँदैछ । राष्ट्रिय खेलकुदको अपनत्व प्रदेशवासीलाई गराउन यसपटक नवौं संस्करणमा गण्डकीका ८ जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्म १ हप्ता प्रतियोगिता अन्तर्गतका खेल आयोजना गरिएसँगै प्रदेशभर खेलकुदको माहोल तातेको छ ।
हिमाली जिल्ला मनाङ, मुस्ताङ र लमजुङ बाहेकका जिल्लाले खेल आयोजनाको अवसर पाएका छन् । कोेभिड–१९ महामारीको प्रभावले हरेक २–२ वर्षमा हुनुपर्ने प्रतियोगिता तोकिएको समयभन्दा डेढ वर्ष ढिला गरी आयोजना भयो । विक्रम संवत् २०७७ फागुन अन्तिम हप्ताका लागि तय भएको नवौं कोरोनाकै कारण पटक–पटक स्थगन हुँदै आएको थियो ।
प्रतियोगिताको अन्तिम तयारीले मुख्य आयोजनास्थल पर्यटकीय शहर पोखरा खेलकुदमय बनेको हो । खेलाडी, खेलकुदकर्मीसहित विभिन्न पेशा व्यवसायीहरू उत्साहित बनेका छन् । विक्रम संवत् २०७६ मंसिरमा १३औं दक्षिण एसियाली खेलकुदपछि पर्यटकीय शहर पोखराले पहिलोपटक घरेलु खेलकुदको सर्वोच्च प्रतियोगिताको आतिथ्यता प्रदान गर्दैछ ।
यसअघि विक्रम संवत् २०४० सालमा पोखरामा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद भएको थियो । प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माण लगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । कतिपय खेलका पूर्वाधार निर्माण र स्तरोन्नतिमा ढिलाइ भए पनि समग्रमा राष्ट्रिय खेलकुदलाई भव्य बनाउने गरी तयारीका काम भएका छन् । खेलस्थल, प्रतियोगिता सञ्चालन, समारोह सुरक्षा, खेल सामग्री सबै हिसाबले प्रतियोगिताको तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए ।
उद्घाटनमा ७ प्रदेशको संस्कृति झल्किने
राष्ट्रिय खेलकुदको भव्य उद्घाटनका लागि पोखरा रंगशालामा २ हप्तादेखि तयारी भइरहेको छ । रंगशालाभित्र र बाहिरसमेत नेपाली सेना, विद्यालयका विद्यार्थी तथा विभिन्न सांस्कृतिक समूहहरूको तयारी छ । भोलि शुक्रवार साँझ ४ः०० बजे प्रतियोगिता विधिवत उद्घाटन गर्ने कार्यक्रम छ । पोखरा रंगशाला उद्घाटन समारोहका लागि सिँगारिएको छ । ठाउँठाउँमा स्वागत बोर्ड, ब्यानर र बत्तीले साँझमा झिलीमिली छ ।
उद्घाटनमा देशका ७ प्रदेशको संस्कार र संस्कृति गीत, संगीत, नृत्य र झाँकीको माध्यमबाट समारोहमा झल्किनेछ । नेपाली सांस्कृतिक विविधतालाई राष्ट्रिय खेलकुदको उद्घाटनले प्रतिनिधित्व गर्नेछ । नेपालको भूगोल र ठाउँ विशेष अनुसारको मौलिक संस्कृति प्रस्तुत गर्ने गरी नृत्य र झाँकी प्रदर्शन हुने समारोह उपसमितिले जनाएको छ । उद्घाटन समारोह २ घण्टाको हुनेछ ।
१ नम्बर प्रदेशको राई÷लिम्बूको चर्चित साकेला नृत्य, मधेशको सतार र धिमाल जातिको मौलिक नृत्य, बागमतीको नेवारी संस्कृति, गण्डकीको कौडा, घाँटु र लोकगीत, लुम्बिनीको थारू संस्कृति, कर्णालीको मगर समुदायको झ्याउरे र सुदूरपश्चिमको हुर्केली गीत र झाँकी प्रस्तुत समारोहमा प्रदर्शन हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य एवं समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले उद्घाटन समारोहलाई भव्य बनाएर राम्रो सन्देश देशभर दिने गरी उद्घाटन समारोहको तयारी गरिएको बताए । नेपालको हिमाल, पहाड र तराईको भौगोलिक विधिधता र त्यसभित्रको जातीय र सांस्कृतिक फरकपनलाई झल्काउने गरी झाँकीहरू प्रस्तुत गरिने उनले जानकारी दिए ।
उनले भने, ‘उद्घाटन समारोहले समग्र प्रतियोगिताको विशेष अर्थ राख्दछ । नेपालको इतिहासमै पर्यटकीय र खेलकुदको सहरमा राम्रो र उल्लासमय वातावरणमा उद्घाटन समारोह बनाउने छौं, सिंगो देश खेलकुदमय हुनेछ ।’ पोखरा रंगशालाको अत्याधुनिक फूटबल स्टेडियममा नेपाली सेनाको मार्चपासबाट उद्घाटन समारोह शुरूआत हुनेछ । सेनाका ३०० जनाले मार्चपास गर्नेछन् । मार्चपासपछि सलामी अर्पणको कार्यक्रम हुनेछ ।
त्यसपछि सेनाको एक टुकडीले नाच प्रस्तुत गर्नेछ । नेपाली सेनाका १८ जना महिलाको टोलीले ७ प्रदेश, विभाग र खेल संघको झण्डा बोकेर रंगशालामा मार्चपास गर्नेछन् । संस्कृतिको अनुपम नमूना गण्डकी प्रदेशको विभिन्न जाति, जनजाति र समुदायकोे संस्कार र संस्कृति झल्कने १२ वटा झाँकी प्रस्तुत हुनेछ । गण्डकी प्रदेशको चर्चित मगर समुदायको कौडा, गुरुङको घाँटु, हिमाली भोटेको याक लगायतका नृत्य प्रस्तुत प्रदर्शन हुनेछ । पोखरा रंगशालाको खेल मैदान ढाकिने गरी ४०० विद्यार्थीले खेलकुदसँग सम्बन्धित र अन्य यहाँको मौलिक गीतमा नृत्य गर्नेछन् ।
नृत्यका लागि ४०० जनाका दरले ३ वटा समूह बनाइएको छ । ३ वटै समूहले फरक–फरक गीतमा नृत्य प्रस्तुत गर्नेछन् । ‘गण्डकी प्रदेश लोकसंस्कृतिको खानी भएकाले यहाँका जातजातिको विभिन्न किसिमका सांस्कृतिक झाँकी प्रदर्शन हुनेछ । साथै देशका सातै प्रदेशका संस्कार र संस्कृति अनुसारका झाँकी हुनेछन् । जसले खेलकुदका माध्यमबाट देशलाई एकतावद्ध बनाउनेछ,’ समारोह उपसमितिका संयोजक कुँवरले भने । चर्चित लोक गायक शिव परियार, कुन्ति मोक्तान, रचना रिमाल सहितको ६ जनाको टोलीले पूरै रंगशाला गुञ्जने गरी स्टेजबाट गीत प्रस्तुत गर्नेछन् ।
गीतमा व्यावसायिक नृत्य गर्ने ४० जना कलाकारको समूहले मैदानमा नृत्य प्रस्तुत गर्नेछन् । समारोहलाई भव्य र उल्लासमय बनाउन उद्घाटन समारोहको अन्तिममा आतसवाजीको तयारी गरिएको छ । भारतको लखनउबाट आएको आतबाजीको समूहले केही दिनदेखि नेपाली सेनाको ब्यारेकमा बसेर तयारी गरिरहेको छ । ७ वटा प्रदेशलाई समेट्ने गरी पूर्वदेखि पश्चिमसम्मको संस्कृति देखाउने नृत्य र झाँकीले राष्ट्रिय भाव दर्शाउने समारोहको झाँकी तथा नृत्य उपसमितिका संयोजक नन्दा बस्यालले बताइन् ।
त्यससँगै गण्डकीका विभिन्न समुदायको संस्कृतिले प्रदेशसवासीलाई राष्ट्रिय खेलकुदको अपनत्व हुने उनको भनाइ छ । उनले भनिन्, ‘छोटो समयमा समारोहका लागि तयारी गरेका छौं । सांस्कृतिक, झाँकी राम्रो हुन्छ । अग्रज कलाकारसँग सहकार्य गरेर समारोहलाई रंगीचंगी बनाउने र खेलकुदका माध्यमबाट राम्रो सन्देश दिने गरी लागिपरेका छौं ।’ प्रतियोगिताको समारोहको तयारीका लागि मात्र ३ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
तयार छन् खेलस्थल
राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अगावै केही खेल शुरू भइसकेका छन् । महिला क्रिकेट, फेन्सिङ, ह्याण्डबल लगायतका केही खेल असोज २३ देखि नै शुरू भएका छन् । अधिकांश खेलहरू शुक्रवारदेखि शुरू हुँदैछन् । विशेषगरी पूर्वाधार अभाव र समयलाई मध्यनजर गरी कतिपय खेल अघि सारिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) मातहतको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।
राष्ट्रिय खेलकुदमा ३६ खेल र २ प्रदर्शनी खेल हुनेछन् । पुरुष क्रिकेट राजधानी काठमाडौंमा सम्पन्न भइसकेको छ । सुटिङ पनि काठमाडौंमै हुनेछ । बाँकी खेलहरू अधिकांश पोखरा रंगशालामा हुनेछन् । पोखरामा २७ खेलहरू हुनेछन् । पुरुष बास्केटबल पोखरा र महिला बास्केटबल तनहुँमा हुँदैछ । बाँकी खेलहरू गोरखा, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा र नवलपुर गरी ६ जिल्लामा हुँदैछ ।
प्रतियोगिताका लागि सबै खेलस्थलहरू तयारी अवस्थामा रहेको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताए । केही खेलका सामान्य मर्मत र सरसफाईका काम बाँकी रहेको गुनासो आएको छ । खेल सञ्चालन अघि खेलस्थलमा सबै काम सकिने गुरुङले बताए । उनले भने, ‘तोकिएका सबै खेलस्थलहरूको मर्मत तथा स्तरोन्नतिको काम सकिएको छ । प्रतियोगिता सञ्चालनका लागि अब कुनै समस्या छैन ।’
राखेपले खेलस्थलको पूर्वाधार स्तरोन्नतिका लागि १ करोड रुपैयाँ बजेट छुट्याएकोमा पूर्वाधार स्तरोन्नतिको कामका लागि २ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताइन्छ । राष्ट्रिय खेलकुदकमा ७ प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ३ विभागीय र गैरआवासीय नेपाली (एनआरएनए) को गरी ११ टोलीको सहभागिता छ । प्रतियोगितामा ३९२ स्वर्ण, ३९२ रजत र ६०० कास्य गरी १ हजार ३८४ पदकका लागि ८ हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । हालसम्मको पदक तालिकामा बागमती प्रदेशले अग्रता बनाएको छ ।
स्थानीय सरकारको साथ
राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी संघीय सरकारको हो । स्थानीय आयोजकका रूपमा गण्डकी प्रदेश सरकारले काम गरेको छ । प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको शहर पोखरा महानगरपालिकाले पनि प्रतियोगिता भव्य बनाउन प्रचारप्रसारमा साथ दिएको छ । महानगरले प्रतियोगितामा पदक जित्ने खेलाडीहरूलाई पुरस्कार घोषणा गरेर प्रोत्साहन गरेको हो । महानगरले प्रचार प्रसारका माध्यमबाट पोखरालाई खेलकुदमय बनाउन शहरका मुख्यस्थल र महानगरका प्रवेशनाकाहरूमा स्वागतद्वार र प्रचार सामग्री राखेको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन महानगरले आफ्नो तर्फबाट काम अघि बढाएको हो । महानगर प्रमुख धनराज आचार्यले पोखरा खेलकुदमय भएको छ भन्ने हिसाबले प्रतियोगिताको प्रचारप्रसार गरिएको बताए । उनले भने, ‘पोखरा खेलकुदमय छ भन्ने बनाउन विद्युतीय डिस्प्ले बोर्ड, रोड व्यानर, स्वागत गेट लगायतबाट प्रचार प्रसार गरेका छौं ।’ महानगरपालिकाले खेलका लागि पोखरा आउने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई यातायात, होटल, सपिङ मल लगायतमा छुट तथा सहुलियतका लागि समेत सम्बन्धित पक्षसँग आग्रह गरिएको जनाएको छ ।
‘राष्ट्रिय खेलकुद देशकै गौरव हो यसलाई सफल बनाउन सबैले आआफ्नो ठाउँबाट सानो भएपनि योगदान गर्नुहोस् भनेर होटल व्यवसायी, यातायात व्यवसायी तथा निजी क्षेत्रसँग आह्वान गरेका छौं,’ आचार्यले भने । महानगरले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता महानगरका खेलाडीहरुलाई व्यक्तिगत विधातर्फ स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गर्ने घोषणा गरेको छ । टीम खेलतर्फ पदक विजेतालाई नगद ५–५ हजार दरले पुरस्कार दिइने महानगरले जनाएको छ ।
राष्ट्रिय खेलकुदको चार दशक
नेपालमा विक्रम संवत् २०३८ देखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो । राष्ट्रिय खेलकुद आयोजनाले चार दशक पार गरिसकेको छ । हरेक २–२ वर्षमा राष्ट्रिय खेलकुद हुने भए पनि राजनीतिक तथा विभिन्न कारणले सो अनुसार हुन सकेको छैन । राष्ट्रिय खेलुदको पहिलो संस्करण विक्रम संवत् २०३८ भदौ २७ देखि असोज ४ गतेसम्म राजधानी काठमाडौंमा भएको थियो ।
शुरूआतमा देशका १४ अञ्चलको प्रतिनिधित्व हुने गरी प्रतियोगिता सञ्चालन हुने गरेको थियो । विक्रम संवत् २०४० सालमा पोखरामा दोस्रो संस्करण हुँदा, विक्रम संवत् २०४२ सालमा तेस्रो संकरण वीरगञ्जमा भएको थियो । तेस्रो आयोजनाको १३ वर्षपछि विक्रम संवत् २०५३ सालमा नेपालगञ्जमा चौथो संस्करणको राष्ट्रिय खेलकुद आयोजना गरियो । गणतन्त्र स्थापनापछि विक्रम संवत् २०६५ सालमा राजधानी काठमाडौंमा पाँचौं संस्करण भयो ।
विगतमा राजाले उद्घाटन गर्ने परम्परा रहेको राष्ट्रिय खेलकुद पहिलो पटक तत्कालीन राष्ट्रपति रामवरण यादवले गरेका थिए । सुदूरपश्चिममा विक्रम संवत् २०६८ सालमा छैटौं संस्करणको राष्ट्रिय खेलकुद भएकामा सातौं संस्करण विराटनगरमा विक्रम संवत् २०७३ सालमा आयोजना गरियो । नेपालगञ्जमा विक्रम संवत् २०७५ चैतमा आठौं राष्ट्रिय खेलकुद भएको थियो । आठौं राष्ट्रिय खेलकुदको साढे तीन वर्षपछि गण्डकी प्रदेशमा अहिले नवौं शुरू भएको हो ।
रासस । पोखरा ।