बाँकेको देउपुरासहित दर्जन गाउँ बाढीको जोखिममा छन् । राप्तीको बाढी तटबन्ध भत्काएर बस्तीतर्फ पसेपछि स्थानीयको भोक–निद्रा हराएको छ । बाढीले बगाउने डरले ५ दिनदेखि आफूहरु गस्तीमा खटिएको स्थानीय फारुक अलि शेषले बताए ।
नदी बस्तीतिर पसेर बगाउने डरले गाउँका कोही पनि राति सुत्न नसकेको उनको भनाइ छ । बाढीले तटबन्धमाथिको बाटोसमेत भत्काइ सकेको छ । बढीले दर्जनौं बिगामा लगाएको धानबाली नष्ट गरिसकेको छ । राप्तीले देउपुरानजिकै तटबन्ध कटान तीव्र पारेको छ ।
कटानका कारण देउपुरा, पिप्रहवा, खल्ला झगडिया, गेँदुवा, गंगापुर, सोनवर्सा, खुदरवेटवा, कुँडुवा बस्ती उच्च जोखिमा छन् । वडा नम्बर ७ सँगै ५ र ६ मा पनि तटबन्धसँगै बाढीले घरखेत नै बगाइरहेको छ । भोजभगवानपुर बस्ती सबैभन्दा जोखिममा छ ।
नदीको बाढी बस्तीनजिकै पुगेको छ । उर्वर भूमि बगरमा परिणत भएको छ । पाकेर भित्र्याउने बेलाको सयौं बिघा धानबाली पूरै नष्ट भएको छ । नरैनापुरमा बाढी तथा डुबानबाट ३ हजार घर प्रभावित भएको र २०० घर पूर्ण रूपमा क्षति भएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।
वडाध्यक्षको नेतृत्वमा नरैनापुरको क्षति संकलन गरिँदै
नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बाढी पीडितलाई तत्काल राहत वितरण गरिने बताएका छन् । बिहीबार विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकमा वडाध्यक्ष, स्थानीय प्रहरी, रेडक्रस स्वास्थ्यका प्रमुखलाई वास्तविक बाढी पीडितको तथ्याक संकलन गर्न निर्देशन दिए ।
नरैनापुर गाउँपालिकामा भएको बाढी प्रभावित क्षेत्रको पहिचान गरेर तत्काल राहत सामग्री वितरण गर्ने बैठकले निर्णय गरेको छ । साथै विभिन्न संघ, संस्थालाई सहयोगको लागि अनुरोध गर्ने र संकलन भएका राहत सामग्री एकद्वार प्रणालीमार्फत पालिकाबाटै वितरण गर्ने निर्णय भएको छ ।
क्षति भएका सार्वजनिक संरचना तत्काल पुनः निर्माण गर्ने, धानबाली क्षति विवरण कृषि शाखाले संकलन गर्ने र सम्भावित स्वास्थ्य सम्बन्धी प्रकोप नियन्त्रण गर्न स्वास्थ्य शाखाले पहल गर्ने निर्णय गरेको विपद शाखा संयोजक लक्ष्मीकान्त मिश्राले जानकारी दिए ।
सत्यपाटी । बाँके ।