सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतमा गठबन्धनको एजेण्डा : भ्रष्टाचारमुक्त कर्णाली

चुनावी माहौल तातिएसँगै सुर्खेतमा वाम लोकतान्त्रिक गठबन्धनले कर्णालीलाई भ्रष्टाचार र अनियमितता शुन्य बनाउने एजेण्डा अघि सारेको छ । भ्रष्टाचार र अनियमितता अन्त्य गरी समृद्ध कर्णाली निर्माणलाई गठबन्धनले आफ्नो मूल एजेण्डा बनाएको छ ।

‘कर्णालीबाटै ‘भ्रष्टाचारमुक्त’ अभियानको थालनी गरिने पनि गठबन्धनतर्फका उम्मेदवारहरुले बताएका छन् । उम्मेदवारहरुले सुर्खेती जनताको साथ र सहयोगले गठबन्धनले जित निश्चित रहेको दावी गर्दै भने, ‘अब कर्णालीबाटै भ्रष्टाचार र अनियमितता शुन्य बनाउने अभियान सुरु गरी यसलाई देशव्यापि बनाइनेछ ।’

वाम लोकतान्त्रिक बुधबार गठबन्धनले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभातर्फका उम्मेदवार हृदयराम थानीले गठबन्धनका उम्मेदवारले निर्वाचन जितेपछि आफूले भ्रष्टाचार नगर्ने र अरुलाई भ्रष्टाचार गर्न पनि नदिने बताएका छन् ।

उनले निर्वाचनमा जित निश्चित रहेकाले निर्वाचन जितेपछि भ्रष्टाचारका विरुद्ध लड्ने बताएका छन् । ‘म संधै जनताको नजिक छु । सुर्खेती जनताले मलाई मतदान गरेर विजयी बनाउनुभयो भने म भ्रष्टाचार गर्दिन, नातागोतालाई सरकारी नियुक्तिमा भर्ति गर्ने छैन,’ उम्मेदवारले थानीले पत्रकारहरुसँग भने ।

गठबन्धनका उम्मेदवारहरु प्रदेश र संघको नेतृत्व हाक्ने सक्ने रहेकाले पनि सुर्खेती जनताले गठबन्धनकै उम्मेदवारलाई विजयी बनाउने उनको दावी छ । कार्यक्रममा गठबन्धनका तर्फबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (ख) का उम्मेदवार विन्दमान विष्टले सुर्खेती जनताले अवसर पाएको बताए ।

विष्टले सुर्खेतका जनताले गठबन्धनका उम्मेदवारलाई मतदान गरेर जिताउनेमा विश्वस्त रहेकोले सक्षम नेतृत्व छान्ने अवसरलाई सुर्खेती जनताले गुमाउनु नहुने बताए । कार्यक्रममै निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) बाट उम्मेदवार कालिप्रसाद शाक्यले लोकतान्त्रिक बाम गठबन्धनको आफ्नै खालको रणनीति लिएर चुनावी मैदान होम्मिएको बताए ।

उनले भने, ‘भ्रष्टाचार, अनियमितता हाम्रो अगाडि च्यालेन्ज बन्यो । अब भ्रष्टाचार, अनियमितता हटाउने अभियान कर्णालीबाट सुरु हुनेछ ।’ सुर्खेत निर्वाचन–१ (क) प्रदेशसभा सदस्यका उम्मेदवार खडकबहादुर पोखरेलले संविधानको रक्षा र सुर्खेतको परिवर्तनका लागि गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरे ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (ख)का उम्मेदवार कृष्ण जिसीले यो गठबन्धन स्वार्थका लागि नभई विकास र समृद्धिका लागि भएको बताए । गठबन्धनका उम्मेदवारहरूले सुर्खेतलाई आसन्न निर्वाचनपछि देश र कर्णाली दुबैको नेतृत्व गर्ने अवसर आएकाले त्यसका लागि गठबन्धनका उम्मेदवारले जित्ने पर्ने दवाब रहेको जिसीको भनाइ छ ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभातर्फका उम्मेदवार एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई भावी प्रधानमन्त्री र निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार विन्दमान विष्टलाई प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा हेरिएको छ । उनले भने, ‘यो निर्वाचनमा गठबन्धनले हार्दा देश र कर्णालीको नेतृत्व गर्ने अवसर गुमाउनेछौं ।’

गठबन्धनबाहेकका दलहरुलाई सत्तामा पुर्याइयो भने समाजवादका आधारहरू निमोठिने उम्मेदवारहरुले बताएका छन् । ‘गठबन्धनको पहिलो आधार भनेको समाजवादको आधार तयार गर्नु हो,’ उम्मेदवारहरुले भने, ‘त्यसका लागि गठबन्धनको जित आवश्यक छ ।’ संविधानको रक्षाका लागि पनि गठबन्धनले जित्नैपर्ने उम्मेदवारहरुले बताएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार १८:३६