सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानूमान

मौसम विभागले भन्यो, ‘अर्को हप्तासम्म मौसमी वर्षात् रहिरहन्छ’

वर्षात् सकिए पनि त्यसको जोखिम भने कायमै रहनेछ । सम्भवतः अर्को हप्ता मौसम बाहिरिन सक्छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी (अर्को) हप्तासम्म मौसमी वर्षात् रहिरहने पूर्वानूमान गरेको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले सो जानकारी गराएका हुन् ।

उनले त्यसका लागि विभागले मौसमी सिष्टमको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उचित समयमा त्यसको बाहिरिने अवस्थाबारे सार्वजनिक गर्ने बताए । वरिष्ठ मौसमविद् रेग्मीले मौसमी वर्षात् सकिएपनि ठूलै धनमालको जोखिम हुने अवस्था सकियो भन्ने नमिल्ने पनि स्पष्ट पारे ।

वर्षात् सकिए पनि त्यसको जोखिम भने कायमै रहन सक्ने उनको भनाइ थियो । वरिष्ठ मौसमविद् रेग्मीले भने, ‘अहिले तत्कालै आज भोलिनै मौसम बाहिरिने सम्भावना छैन् । तथापि सम्भवतः अर्को हप्ता मौसम बाहिरिन सक्छ । अव हामी कहिले मौसम बाहिरिन्छ भन्ने सन्दर्भमा चाँही मौसमी सिष्टमलाई निरन्तर अनुगमन गरिराखेका छौं ।’

उनले उचित समयमा मौसम बाहिरिने अवस्था भएपछि सार्वजनिक गरिने जानकारी दिए । ‘अव धनमालमै क्षति हुने अथवा कुनै त्यस्तो जोखिम निम्त्याउने मनसुनी वर्षाले मात्रै हुँदैन । मनसुनपछि पनि त्यस्ता खालको मौसमी गतिविधि हुन सक्छ । त्यसैले मौसम सकिए पनि त्यस्ता जोखिम निम्तिन नसक्ने भन्ने चाँही होइन,’ मौसमविद् रेग्मीले भने ।

विभागले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ ? भन्नेबारे हिउँदेयाम सुरु हुनुअघि नै जानकारी दिने पनि बताएको छ । वरिष्ठ मौसमविद् रेग्मीले डिसेम्बर, जनवरी र फेब्रुअरी महिना हिउँदयाम हुने भन्दै त्यसको जानकारी समय आउनु अगावै दिने बताए । उनले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्न नमिल्ने पनि बताए ।

वरिष्ठ मौसमविद् रेग्मीले भने, ‘भर्खर मौसम सकिदैछ अहिले । जल तथा मौसम विज्ञान विभागले अव आउँदो हिउँद कस्तो हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्ने चाँही हामीले डिसेम्बर, जनवरी र फेबु्रअरी महिनालाई हामी हिउँदको मौसम भन्छौं । हिउँदमा वर्षातको अवस्था कस्तो हुन्छ भन्ने कुरालाई हामी डिसेम्बर अगाडि नै सार्वजनिक गर्छौं ।’ विभागले मौसमी अवस्थाबारे २४ सैं घण्टा सेवा दिइरहने गर्दछ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार १६:४३