सूचनाको शक्ति - The Power Of Information

        

प्रदेशसभा सदस्यमा दीपक मनाङे निर्विरोध निर्वाचित

मनाङ प्रदेशसभा ‘ख’बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे (राजीव गुरुङ) निर्विरोध निर्वाचित भएका छन् ।

गठबन्धन बनाएर देशभर प्रतिस्पर्धा गरेका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता ठूला दललेसमेत उम्मेदवारी नदिएपछि मनाङे दोस्रो पटकका लागि गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

मनाङेलाई आफ्नो पक्षमा ल्याउन त्यहाँ कांग्रेस, एमाले र माओवादीले उम्मेदवा खडा गरेका थिएनन् । अघिल्लो चुनावमा उनी त्यही क्षेत्रबाट १४१० मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए ।

मनाङका सहायक निर्वाचन अधिकृत तारा बडूका अनुसार अर्का एक स्वतन्त्र दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ताका लागि निवेदन दिइसकेका छन् । उनका अनुसार स्वतन्त्रमा उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएपछि राजीव गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।

सहायक निर्वाचन अधिकृत बडूले भने, ‘दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिइसक्नुभएको छ । उहाँले उम्मेदवारी फिर्ता लिएपछि राजीव गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।’ उक्त निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन र विपक्षी एमाले गठबन्धन दुवैको उम्मेदवार आफैँ रहेको दाबीसहित गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले उम्मेदवारी दर्ता गराएका थिए ।

यो क्षेत्रमा मनाङेलाई चुनौती दिएका अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो मनोनयन फिर्ता लिएपछि मंसिर ४ को निर्वाचनमा संसद यात्रा तय गर्ने मनाङे पहिलो उम्मेदवार भएका छन् । मनाङको प्रतिनिधि सभा र ‘क’ मा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएका थिए । तर प्रदेश सभा ‘ख’ मा कुनै दलले उम्मेदवार अघि सार्न सकेका थिएनन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार १४:४३