सूचनाको शक्ति - The Power Of Information

        

नवौँ राष्ट्रिय खेलकुद

खेलकुदमा फितलो व्यवस्थापन, बन्द प्रशिक्षणबिना सहभागी हुँदै खेलाडी

पोखरामा खेलकुदको ‘कुम्भमेला’को तयारी पूरा

सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेशको पोखरामा हुँदै गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी फितलो व्यवस्थापनका बीच सहभागी हुँदैछन् ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को व्यवस्थापनमा खेलाडीको बन्द प्रशिक्षणदेखि अन्य विषयमा सुविधा हुनुपर्ने भए पनि प्रदेश छनोटमा परेका कतिपय खेलका खेलाडीले खेल सामग्रीसमेत पाएनन् ।

‘कञ्चनपुरबाट केही समयअघि नै खेलकुदका पदाधिकारी र कार्यालय प्रमुख नवौँका लागि पोखरा पुगिसके पनि खेलाडी भने जाने क्रम सुरु भएको छ,’ एक प्रशिक्षकले भने, ‘खेलाडीबिना बन्द प्रशिक्षण राष्ट्रिय प्रतियोगितामा जान थालेको यो पहिलोपटक हो ।’

जिल्ला छनोटपछि प्रदेशस्तरीय बन्द प्रशिक्षण राख्ने विषयमा सुदूरपश्चिम प्रदेश मौन रह्यो । खेलाडी नियमित प्रशिक्षणबाट राष्ट्रियका लागि गण्डकी प्रदेशतर्फ गइरहेका छन् । राष्ट्रिय प्रतियोगिता अन्तर्गत दुई दिनअघिदेखि प्रतियोगिता सुरु भइसके पनि नवौँका उद्घाटन आगामी शुक्रबार हुँदैछ ।

खेल तालिकाअनुसार यहाँबाट खेलाडी नवौँमा जाने क्रम सुरु भएको हो । यहाँ कतिपय जिल्ला छनोटमा सहभागी प्रशिक्षक–रेफ्रीलाई समेत दिनुपर्ने भत्ता रकम दिइएको छैन । यता सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले खेलकुदको समग्र जिम्मेवारी प्रदेश खेलकुद परिषद्लाई दिइएको जनाएको छ ।

मन्त्रालयबाट नवौँ राष्ट्रियको व्यवस्थापनका लागि खटिएका नायबसुब्बा डम्बर रावलले प्रदेश सरकारबाट रकम निकासामा ढिलाइ हुनुका साथै बीचमा दसैँ पर्वका कारण प्रदेशको बन्द प्रशिक्षण हुन नसकेको दाबी गरे ।

‘प्रदेश खेलकुद परिषद्ले एक महिना बन्द प्रशिक्षण गर्नुपर्ने प्रास्ताव अघि सारे पनि एक साताको मात्रै स्वीकृत मिल्यो,’ उनले भने, ‘जिल्ला छनोट समयमा भए पनि प्रदेशबाट रकम निकास ढिलो हुँदा व्यवस्थापनमा समस्या भयो ।’

सुदूरपश्चिम प्रदेश सरकारले खेलकुदका लागि रु चार करोड ९० लाख र राष्ट्रिय खेलकुद परिषद्ले ४९ लाख रकम निकास गरेको रावलको भनाइ छ । ‘खेलाडीलाई पोशाक राष्ट्रिय खेलकुद परिषद्ले र यातायात सुविधाका लागि हामी समितिहरू परिचालन गरेका छौँ,’ रावलले भने, ‘खेलाडी, प्रशिक्षक र खेल व्यवस्थापक सोहीअनुसार गइरहेका छन् ।’

सुदूरपश्चिमबाट एकल र समूह खेलबाट खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी सात सय २० जना सहभागी गइरहेको रावलले बताए । ‘खेलाडीहरू लिएर आउनु भनेको छ, बाटो खर्चको व्यवस्थापन पनि आफैँ गर्नुपरेको छ,’ एक प्रशिक्षकले भने, ‘खेलाडीलाई यति फितलो व्यवस्थापनमा लैजानुपर्ने अवस्था कहिल्यै आएको थिएन ।’

जिल्ला छनोट हुँदा खेल पोशाक भन्दै महेन्द्रनगरमा खेलाडीलाई जर्सी वितरण गरिएको थियो । ‘प्रदेशबाट छनोट भइसकेपछि खेलाडीलाई खेल सामग्री नदिएर बसेकाहरू अहिले पोखरा पुगेर पदकको आशामा छन्,’ एक खेलाडीले भने, ‘राज्यले दिएको लगानी सदुपयोग गरेमात्रै खेलाडीको अवस्थामा सुधार आउँथ्यो ।’

पोखरामा खेलकुदको ‘कुम्भमेला’को तयारी पूरा

नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापन लगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा आयोजित विशेष समारोहमा उक्त प्रतियोगिता उद्घाटन गर्नेछन् । प्रतियोगिता आगामी शुक्रबार उद्घाटन हुने भएता पनि पुरुष क्रिकेट प्रतियोगिता यसअघि नै सम्पन्न भइसकेको छ । यस्तै महिला क्रिकेट, ह्यान्डबल फेन्सिङ लगायतका केही खेल पनि सुरु भइसकेका छन् ।

प्रतियोगिता समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । खेलकुदप्रति चासो राख्ने सबैको ध्यान अहिले पोखरा र त्यस वरपरका जिल्लामा सञ्चालन हुने प्रतियोगितामा केन्द्रित भएको छ । गण्डकी प्रदेशका लमजुङ, मनाङ र मुस्ताङबाहेकका जिल्लामा सञ्चालन हुने प्रतियोगितामा ३६ खेल विधा समेटिएको छन् ।

प्रतियोगिता सञ्चालन र व्यवस्थापनका लागि पोखरामै सचिवालय खडा भइसकेको सचिव गौतमले जानकारी दिए । विसं २०४० मा दोस्रो राष्ट्रिय खेलकुद गरेको पोखराले चार दशकपछि पुनः प्रतियोगिता सञ्चालन गर्न लागेको हो । नेपालको खेलकुदको कुम्भमेलाका रूपमा रहिआएको यस प्रतियोगितामा करिब आठ हजार खेलाडीसहित अफिसियल, प्रशिक्षक सहभागी हुनेछन् ।

प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने यो प्रतियोगिता कोरोना सङ्क्रमणले केही समय ढिला भएको हो । प्रतियोगितामा केही खेलविधा तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा सञ्चालन हुनेछन् । आजसम्म सबै खेलाडी तोकिएको खेलस्थल पुग्ने कार्यक्रम छ । प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएन) टिमले स्वर्ण ३९३, रजत ३९३ र कास्य ६०० पदकाका लागि प्रतिस्पर्धा गर्नेछन् ।

खेलकुद समाजका सबै जातजाति र समुदायलाई एकीकृत र समावेशी प्रतिनिधित्व गराउने सशक्त विधा हो । प्रतियोगितामा एथलेटिक्स, क्रिकेट, ब्याडमिन्टन, फुटबल, टेनिस, बक्सिङ, भलिबल, जिमन्यास्टिक, ह्याण्डबल, सफ्टटेनिस, सेपाताक्रो, स्क्वास, उसु, जुडो, ‘फुलकन्ट्याक्ट’ कराते, पौडी, हक्की, भारत्तोलन, गल्फ, साइक्लिङ, ट्रायथलन प्याराग्लाइडिङ, आर्चरी, फेन्सिङ, कबड्डी, आइटिएफ तेक्वान्दोे, बास्केटबल, कराते, बुद्धिचाल र कुस्तीलगायत केही प्रदर्शनी खेलविधा समेटिएको छ ।

प्रतियोगितामा तीन हजार ६८५ महिलासहित सात हजार ७९० खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता आयोजक समितिका सदस्यसचिव फणिन्द्र पौडेलका अनुसार प्रत्येक टोलीबाट कम्तीमा ३३५ महिला खेलाडीको समेत सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडी प्रशिक्षण र तयारीका लागि केन्द्रीय सरकारले प्रत्येक प्रदेशलाई रु ४९ लाख रकम उपलब्ध गराएको थियो । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा यसपटक रु १० लाखको लागतमा ‘रनिङ ट्रफी’ तयार गरिएको छ ।

प्रतियोगिता गर्न सङ्घीय सरकारले रु ६० करोड बजेट निकासा गरेको थियो । प्रदेश सरकारबाट पनि प्राथमिकताकासाथ रकम विनियोजन गरिएको छ । प्रतियोगिता ऐतिहासिक र भव्यरूपमा सम्पन्न गर्र्न १३ विभिन्न विषयगत समिति गठन गरी सहभागिता, समन्वय र सहजीकरणको काम भइरहेको छ । विगतमा सङ्घीय संरचनाको ढाँचामा हुँदै आएको प्रतियोगिता पहिलोपटक यसपटक प्रादेशिक संरचनामा हुन लागेको हो । प्रतियोगिताबाट नयाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीको पहिचान र छनोट हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार १४:३४