सूचनाको शक्ति - The Power Of Information

        

लगातारको वर्षाले कर्णालीमा २२ जनाको मृत्यु, ३४ बेपत्ता

लगातार पाँच दिनसम्मको वर्षाका कारण बाढीपहिरोमा परी कर्णाली प्रदेशमा २२ जनाको मृत्यु भएको छ । ३४ जना अझै बेपत्ता छन् ।

असोज १९ गतेदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी २२ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार सातजना घाइते भएका छन् । असञ्चार सेवा अवरुद्ध हुँदा घटनाको सबै विवरण आउन नसकेको जनाइएको छ ।

ज्यान गुमाउनेमा मुगुका मात्रै आठ जना छन् । मुगुको छायानाथ रारा नगरपालिका–११ तलि सालिमका घर माथिबाट आएको पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यहाँ सात घाइते भएका छन् । छायानाथ रारा नगरपालिका–११ का ८२ वर्षीया गौरीकला बोहोरा, १९ वर्षीया सुस्मिता भग्री, ३० वर्षीया होजाली भग्री, ५४ वर्षीय वीरबहादुर भग्री, १५ वर्षीय चक्रवीर बोहोरा, २० वर्षीय सक्कबहादुर सावत, २० वर्षीय कृष्णा सावत, ६० वर्षीया हाजिरा भग्रीको मृत्यु भएको हो ।

त्यसैगरी हुम्लामा चार जनाको मृत्यु भएको छ । चङ्खेली गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको चङ्खेली गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले जानकारी दिइन् । ५७ वर्षकी तुलसा, नौ वर्षीया सुष्मिता, सात वर्षीया हुइजाली र पाँच वर्षीय वसन्त विकको मृत्यु भएको हो ।

यस्तै जुम्लामा सात, डोल्पामा एक, दैलेखमा एक र सल्यानमा एक जनाको बाढीपहिरोमा परी मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए ।

वर्षाको सबैभन्दा ठूलो असर कालिकोटमा परेको छ । यहाँ प्रहरी जवानसहित २३ बेपत्ता भएको विवरण छ । तिलागुफा नगरपालिका–४ राँचुलीमा मलामी गएका १३ जना पहिरोमा पुरिएर बेपत्ता भएका छन् । आइतबार दिउँसो १ बजेतिर मलामी गएका उनीहरूमाथि तिला कर्णाली नदीमा शव जलाउने क्रममा पहिरो खसेको जनाइएको छ ।

पहिरोमा पुरिएर तिलागुफा –४ का नवनिर्वाचित वडाध्यक्ष परमबहादुर शाहीसहित १३ जना बेपत्ता भएका कालिकोटका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । आइतबार दिउँसोदेखि उनीहरु सम्पर्कमा नआएपछि खोजी गर्दा पहिरोमा पुरिएको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको तिलाकर्णाली नदीमा अन्तिम संस्कार चलिरहँदा त्यहाँ पुगेका मलामीमाथि पहिरो खसेको हो ।

बेपत्ता हुनेमा कालिकोट तिलागुफा नगरपालिका–४ राँचुलीका ६३ वर्षीय धनबहादुर शाही, ४७ वर्षीय कालीबहादुर शाही, ३१ वर्षीय क्षेत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही र २३ वर्षीय भेषबहादुर शाही छन् ।

यस्तै ७६ वर्षीय अलि शाही, ५९ वर्षका परबहादुर शाही, ५७ वर्षीय भक्तबहादुर शाही, ५५ वर्षीय धन शाही, ४१ वर्षीय मोतिलाल शाही, २४ वर्षीय नरेश शाही, २३ वर्षीय खेमराज शाही र २३ वर्षीय प्रशान्त शाही पहिरोमा पुरिएर बेपत्ता भएका हुन् ।

बेपत्ताहरूको खोजी र घाइतेको उद्धार चलिरहेको प्रहरीले जनाएको छ । बाढीपहिरोबाट सयौँ परिवार घरबारविहीन भएका छन्। क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार १६:४७