सूचनाको शक्ति - The Power Of Information

        

भारतले दिएन आयात अनुमति

गोदाममै थन्कियो २५ सय टन जडीबुटी, व्यवसायी चिन्तित

भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा नसमेटिएको भन्दै भारतले आयात अनुमति नदिएको हो ।

भारततर्फ निकासी गर्ने गरी नेपालगन्जमा राखिएको ठूलो परिमाणको जडीबुटी अझै निकासी हुन नसकेको व्यवसायीले बताएका छन् । भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा नसमेटिएको भन्दै भारतले आयात अनुमति नदिएको हो ।

यसले करिब दुई हजार ५०० टन बढी जडीबुटी निकासी हुन नसक्दा नेपालगन्जस्थित जडीबुटी व्यवसायी सङ्घमै थन्किएको छ । सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्माले सरकारले जडीबुटी निर्यातमा सहजीकरण नगरेको आरोप लगाए ।

उनले लामो समयदेखि राखिएको जडीबुटी निकासी नहुँदा कुहिने अवस्थामा पुगेकोले क्षतिको डरले व्यवसायी चिन्तित बनेको पनि बताए । व्यवसायी रवीन्द्रनाथ शुक्लाले आफ्नो मात्रै करिब एक करोड रुपैयाँ बराबरको उत्पादन थन्किएको गुनासो गरे ।

जडीबुटी व्यवसायी सङ्घका अनुसार बाँकेमा जडीबुटी सम्बन्धी १२ उद्योग छन् । गत वर्ष पाँच हजार टन जडीबुटी निर्यात गरेको सङ्घले यस वर्ष हालसम्म दुई हजार टन मात्र जडीबुटी निर्यात गरेको छ ।

नेपालका विभिन्न जिल्लामा सङ्कलन गरिएको ३० प्रकारको जडीबुटी नेपालगन्ज ल्याएर भारततर्फ निकासी हुँदै आएकामा भारतले नयाँ नियम देखाएर निकासीमा अवरोध गर्दै आएको जडीबुटी सङ्घका पूर्वअध्यक्ष याकुब अन्सारीले बताए ।

जडीबुटी निकासीलाई सहज बनाउने हो भने लक्षित वर्गका किसानले बढीभन्दा बढी रोजगारी पाउने व्यवसायीलाई समेत लाभ पुग्ने अन्सारीको भनाइ छ । भारतीय भन्सारमा निर्यात समस्याका कारणले जडीबुटी व्यवसाय घट्दै गएको व्यवसायीको गुनासो छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार ०९:०७