गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा जस्तै यस पटक पनि उम्मेदवारीका लागि नेताहरूले दल अदलबदल गरेका छन् । पार्टीबाट टिकट नपाएपछि अर्को पार्टीमा र केहीले स्वतन्त्रबाट उम्मेदवारीसमेत दिएका छन् ।
मन्त्रीद्वारा दल परिवर्तन
कपिलवस्तु समाचारदाताका अनुसार लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादव जनता समाजवादी पार्टी परित्याग गरी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका छन् ।
नेकपा एमाले र जसपा गठबन्धनबाट यादवको टिकट पक्का भए पनि मनोनयन गर्ने दिन उनले कांग्रेस प्रवेश गरी कपिलवस्तु क्षेत्र नम्बर १ (ख) प्रदेश सभा सदस्य पदमा उम्मेदवार दिएका छन् ।
लोकतन्त्र र सङ्घीयताको रक्षा गर्नका लागि पाँच दलीय गठबन्धनको आवश्यकता रहेको बताउँदै जसपा त्याग गरेको यादवले बताए । मन्त्री यादव कांग्रेसबाट उम्मेदवारी दिएलगत्तै एमालेले मधुसुधन चौधरीलाई उम्मेदवार बनाएको छ ।
जसपा र एमाले बीचको सहमतिअनुसार प्रतिनिधि सभाको ३ नम्बर क्षेत्र र प्रदेश सभाको ४ नम्बर क्षेत्रमा एमाले र प्रदेश सभाको २ नम्बर क्षेत्रमा जसपाले उम्मेदवारी दिने सहमति भएको थियो ।
उम्मेदवार नै कांग्रेसमा प्रवेश गरेपछि जसपाले कांग्रेस निकट मेवालाल यादवलाई उम्मेदवार बनाएको छ । कपिलवस्तु क्षेत्र नम्बर ३ (ख) २ जना उम्मेदवार दल परिवर्तन गरी प्रदेश सभा सदस्य पदमा उम्मेदवार बनेका छन् ।
सो क्षेत्रमा एमाले परित्याग गरी मिर्जा रासिद वेग जनता प्रगतीशील पार्टीबाट उम्मेदवार बनेका छन् । यस्तै सत्ता गठबन्धनबाट टिकट नपाउने भएपछि जसपाका जानकी यादव राप्रपा प्रवेश गरी उम्मेदवार भएकी छन् ।
यादव स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षको टिकट नपाए पछि कांग्रेस परित्याग गरी जसपामा प्रवेस गर्नुभएको थियो । यसै गरी क्षेत्र नम्बर ३ (क)मा कांग्रेस परित्याग गरी देवराज भारती जनमत पार्टीबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
टिकटकै लागि दल परिवर्तन
आफू आबद्ध दलबाट निर्वाचनका लागि टिकट नपाउने भएपछि दल परिवर्तनको लहड दाङमा पनि देखिएको छ । नेकपा एमालेकी नेत्री तथा पूर्व सांसद गंगा थारू एमाले परित्याग गरेर हाम्रो नेपाली पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नं. १ बाट उम्मेदवार बनेकी छन् ।
यसैगरी कांग्रेस पार्टी दाङका जिल्ला सदस्य देवराज पाठकले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । नयाँशक्ति पार्टी हुँदै जनता समाजवादी छाडेर राष्ट्रिय उन्मुक्ति पार्टीमा लागेका सुरेन्द्र चौधरी प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।
कांग्रेसकी पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद पार्वती डीसी चौधरी राष्ट्रिय उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक सूचीमा परेकी छन् । नेकपा एमालेमा प्रवेश गरेका गंगाराम भट्टराई दाङ निर्वाचन क्षेत्र नं. १ (क) बाट उम्मेदवार बनेका छन् ।
लामो समयसम्म नेकपा माओवादी केन्द्रमा आबद्ध रहेका टङ्कबहादुर विष्टले आइतबार पार्टी परित्याग गरेको घोषणा गरी हाम्रो नेपाली पार्टीबाट दाङ निर्वाचन क्षेत्र नं. १ (क)मा प्रदेश सभा सदस्यमा मनोनयन दर्ता गराएका छन् ।
उम्मेदवार बन्न पार्टी परिवर्तन
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट उम्मेदवार बन्न चाहेर प्रचारप्रसारसमेत सुरु गरिसकेका नेताहरूले टिकट नपाउँदा धेरैले पार्टी परिवर्तन गरेका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मुस्लिम मुक्ति मोर्चाका संयोजक अतहर हुसेन फारुकी जसपामा प्रवेश गरेका छन् । बाँके क्षेत्र नम्बर २ (ख)मा टिकट नपाएपछि माओवादी केन्द्रका मधेशी नेता आदेश अग्रवाल पनि जसपामा प्रवेश गरेका छन् ।
अग्रवाललाई जसपाले क्षेत्र नम्बर २ (ख)बाट उम्मेदवार बनाएको छ । यस्तै माओवादी केन्द्रबाट टिकट नपाएपछि नेता अमर खड्काले जसपामा प्रवेश गरी क्षेत्र नम्बर १ (क)का लागि उम्मेदवारी दिएका छन् ।
जसपाका केन्द्रीय सदस्य बाबु खाँ पठान जनमत पार्टीमा प्रवेश गरेर क्षेत्र नम्बर २ (क)बाट उम्मेदवार बनेका छन् । जसपाका समसुल हक राईले पनि पार्टी छोडेर क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् भने अब्दुल हकिम हलवाइले एमाले परित्याग गरी पनि क्षेत्र नम्बर २ (ख)बाट उम्मेदवारी दिएका छन् ।
व्यवसायी दिवाकर खनालले शिवसेनाको सहयोगमा उम्मेदवारी दिएका छन् । एमाले निकट विक्रम यादवले पनि टिकट नपाएपछि स्वतन्त्र रूपमा क्षेत्र नम्बर १ (क)बाट उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा एमालेले राप्रपाका नरेन्द्र पौडेललाई समर्थन गरेको छ ।
क्षेत्र नम्बर ३ बाट टिकट नपाएपछि कांग्रेसका चन्तराम थारू र रवीन्द्रमान श्रेष्ठले रेशम चौधरीको दल नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका छन् । पूर्वमन्त्री तथा एकीकृत समाजवादीका केन्द्रीय सदस्य दलबहादुर सुनारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
महिला उम्मेदवार शून्य
पाल्पामा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये महिलाको उम्मेदवारी शून्य रहेको छ । यहाँको ६ पदका लागि विभिन्न दल र स्वतन्त्र गरी ४७ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दिएकामा महिलाको उम्मेदवारी शून्य भएको हो ।
जिल्लामा क्रियाशील १५ दलबाट एक जना पनि महिलाको प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी पर्न नसकेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । पाल्पाको दुई प्रतिनिधि सभा सदस्य पदमा विभिन्न दल र स्वतन्त्रबाट गरी २४ जना उम्मेदवारमध्ये सबै पुरुष रहेका छन् ।
यस्तै प्रदेश सभा सदस्यको चार पदका लागि प्रत्यक्षतर्फ चुनाव लड्न २३ जना पुरुषले मात्र उम्मेद्वारी दिएका छन् । स्वतन्त्र व्यक्तिबाट आएको उम्मेदवारीमा समेत महिला पर्न नसकेको जिल्ला निर्वाचन अधिकारी रुक्माङ्गत अर्यालले जानकारी दिए ।
दलका भन्दा स्वतन्त्र बढी
रुकुमपूर्वमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा विभिन्न दलका भन्दा बढी स्वतन्त्र उम्मेदवार रहेका छन् । २६ जनाको मनोनयन दर्ता भएकामध्ये १४ जना स्वतन्त्र उम्मेदवारीको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताए ।
गोरखापत्र
पत्रपत्रिका ।