सूचनाको शक्ति - The Power Of Information

        

चुनाव आउन अब ४० दिन बाँकी

निर्वाचन आयोगले आज उम्मेदवारहरुको नामावली प्रकाशित गर्दै

देशभरबाट ६ हजार २ जनाको उम्मेदवारी

निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि आज उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ । आयोगले आज बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने जनाएको छ ।

हिजो उम्मेदवार विरुद्ध परेका उजुरमाथि छानबिन गरी आज बेलुका नामावली  प्रकाशन गर्ने तयारी भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरूको उम्मेदवारी स्वतः रद्द हुने बताउनु भएको छ । आयोगमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी विरुद्धसम्म उजुरी परेको छ ।

यस्तै, टिकट वितरणमा स्वेच्छाचारी प्रवृत्ति विरुद्ध बागी उम्मेदवार उठेका छन् । आयाेगले भोलि बिहान १० देखि १ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिन समय दिएको छ ।

त्यसपछि भोलि दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ । योसँगै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि उम्मेदवारकाे अन्तिम सङ्ख्या टुङ्गो लाग्ने छ ।

चुनावका लागि देशभरबाट ६ हजार २ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभाका लागि २ हजार ५ सय २६ जनाको र प्रदेश सभाका लागि ३ हजार ४ सय ७६ जनाको उम्मेदवारी दर्ता भएको छ । चुनाव आउन अब ४० दिन बाँकी छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार ०७:५१