प्रदेश राजधानी रहेको सुर्खेतमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि ३९ जनाको उम्मेदवारी परेको छ । दुई वटा प्रतिनिधिसभातर्फ ११ जना र प्रदेशसभातर्फ २८ जनाको उम्मेदवारी परेको छ ।
दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १० वटा राजनीतिक र चार वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा ११ राजनीतिक दलले निर्वाचनमा उम्मेदवारी दिएका छन् । निर्वाचन क्षेत्र नं.१ मा दुई वटा राजनीतिक दलबाट मात्रै उम्मेदवारी परेको छ भने निर्वाचन क्षेत्र नं.२ मा नौं वटा राजनीतिक दलले उम्मेदवारी दिएकामा छन् ।
निर्वाचन क्षेत्र नं.१ माँ नेपाली काँग्रेसबाट नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा एमालेका एमालेका केन्द्रीय सदस्य धुर्वकुमार शाहीले उम्मेदवारी परेको छ । निर्वाचन क्षेत्र नं. २ मा नौं वटा राजनीतिक दलबाट नौं जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेसबाट हृदयराम थानी, नेकपा एमालेबाट अमृत बुढा क्षेत्री, राप्रपाबाट भीमबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर चुनारा, नमकिपाबाट तुलसी खड्का, नेकपा माओवादी समाजवादीबाट टेक्मल दमाई, राप्रपा नेपालबाट विन्द्राकुमारी चन्द, जसपाबाट दिपबहादुर नेपाली र नेशनल पिपुल्स पार्टीबाट कुमारी राईले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै चार वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा प्रदेशसभा निर्वाचनका लागि ११ राजनीतिक दलबाट २८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा ‘क’ मा तीन वटा राजनीतिक दलबाट तीन जनाको मात्रै उम्मेदवारी परेको छ भने प्रदेशसभा ‘ख’ मा चार राजनीतिक दलबाट चार जना र तीन स्वतन्त्रसहित सात जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन क्षेत्र नंं १ प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसबाट खड्कबहादुर पोख्रेल, नेकपा एमालेबाट ठम्मर विष्ट र राप्रपाबाट दलबहादुर सिंह ठकुरीको उम्मेदवारी परेको छ भने प्रदेशसभा ‘ख’ मा चार राजनीतिक दल र चार जना स्वतन्त्रको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेशसभा ‘ख’ मा नेकपा माओवादी केन्द्रका कृष्ण जिसी, नेकपा एमालेका डण्डीप्रसाद शर्मा, राप्रपाका मानबहादुर खराल र राष्ट्रिय जनमोर्चाका मोहन थापाको उम्मेदवारी परेको छ भने प्रदेश मन्त्रीसमेत भइसकेका एमालेका निवर्तमान प्रदेश सांसद खड्कबहादुर खत्री, एमाले निकटकै दिपेन्द्रनाथ योगी र काँग्रेस निकटका देवबहादुर चन्दको उम्मेदवारी परेको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा ‘क’ बाट नौं वटा राजनीतिक दल र तीन जना स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी परेको छ भने निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ बाट पाँच राजनीतिक दलबाट पाँच जनाको मात्रै उम्मेदवारी परेको छ । प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसबाट कालीप्रसाद शाक्य र नेकपा एमालेबाट यामलाल कँडेल उम्मेदवारी परेको छ ।
त्यस्तै ‘क’बाटै एकीकृत समाजवादीका शिवप्रसाद उपाध्याय, राप्रपाका सुर्यबहादुर खत्री, माओवादी समाजवादीका भोजप्रसाद चपाई, नेमकिपाका विजुकला राना, राप्रपा नेपालका मानबहादुर गाइने, जसपाका गगनबहादुर सारु, नेपाल लोकतान्त्रिक पार्टीका पुर्णबहादुर सुनार, स्वतन्त्रबाट रामप्रसाद भुषाल, पदम वन र सुर्यबहादुर खत्रीको उम्मेदवारी परेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रदेशसभा ‘ख’ मा नेकपा माओवादी केन्द्रबाट विन्द्रमान विष्ट, नेकपा एमालेबाट ताराकेशर गौतम, नेकपा एकीकृत समाजवादीबाट मोहन बडुवाल, राप्रपाबाट कर्णबहादुर रेगामी मगर र नेमकिपाबाट गगन कामीको उम्मेदवारी परेको छ ।
स्वतन्त्रमध्ये तीन जना बागी उम्मेदवार
नेकपा एमालेले टिकट नदिएपछि गत निर्वाचनमा निर्वाचित भई मन्त्री समेत भइसकेका खड्कबहादुर खत्रीले निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा ‘ख’बाट एमालेविरुद्ध बागी उम्मेदवारी दिएका छन् । उम्मेदवार छनौटका क्रममा एकल सिफारिसमा परे पनि पार्टीको केन्द्रले डण्डीप्रसाद शर्मालाई दिटक दिएपछि उनले बागी उम्मेदवारी दिएका हुन् ।
त्यसैगरी सोही क्षेत्रबाट एमालेकै दिपेन्द्र नाथ योगीले पनि बागी उम्मेदवारी दिएका छन् भने काँग्रेसबाट देवबहादुर चन्दले पनि बागी उम्मेदवारी दिएका छन् भने निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा ‘क’ बाट रामप्रसाद भुषाल, पदम वन र सुर्यबहादुर खत्रीले पनि स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सिफारिसमा परे पनि आफ्नै दलले टिकट नदिएपछि बागी उम्मेदवारी दिनुपरेको उनीहरुले बताएका छन् । ‘एकल सिफरिसमा पर्दासमेत मेरो टिकट खोसेर निर्वाचन क्षेत्रमै मतदाता नामावली नभएका आगन्तुक व्यक्तिलाई दिएपछि मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ,’ बागी उम्मेदवारी दिएका खड्कबहादुर खत्रीले भने ।
सत्यपाटी । सुर्खेत ।