सूचनाको शक्ति - The Power Of Information

        

राजनीतिमा जालझेल

राष्ट्रियसभामा एमालेले गुमायो एक सिट, टिकट नपाएपछि खिमलाल अलपत्र

एमाले अध्यक्ष केपी शर्मा ओलीले गल्ती नभई खिमलालको राजनीति भविष्यमाथि खेलबाड गरेको भन्दै वृत्तमा चर्को आलोचना भइरहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गल्तीका कारण राष्ट्रियसभाबाट एमालेले एक सिट गुमाएको छ । रुपन्देही क्षेत्र नम्बर ५ मा उम्मेदवारीका कारण राष्ट्रियसभाबाट एमालेले एक सिट गुमाएको हो ।

राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएर रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका खिमलाल भट्टराईको उम्मेदवारी कायम हुन नसकेपछि राष्ट्रियसभाबाट एमालेले एक सिट गुमाउनु परेको हो ।

सोही क्षेत्रबाट निर्वाचन आयोगले एमालेका अर्का उम्मेदवार बासुदेव घिमिरेलाई पार्टीको आधिकारिक उम्मेदवारको मान्यता दिएपछि नेता भट्टराईले राष्ट्रियसभा सदस्यसँगै प्रतिनिधिसभाको टिकट समेत गुमाएका छन् ।

एमालेले सुरुमा घिमिरेलाई उम्मेदवारको टिकट दिएको थियो । तर, बीचमा अध्यक्ष ओलीले घिमिरेको टिकट रद्द गरेर खिमलाललाई उम्मेदवार बनाउने निर्णय गरेपछि राष्ट्रियसभामा एमालेले एक सिट गुमाएसँगै खिमलाल अलपत्र परेका छन् ।

राष्ट्रियसभामा एमालेका सचेतक खिमलाल भट्टराईको पद त गुम्यो गुम्यो, रुपन्देही ५ मा उम्मेदवार पनि पाउन सकेनन् । रुपन्देहीको क्षेत्र नं. ५ मा अन्ततः नेकपा एमालेबाट वासुदेव घिमिरेको उम्मेदवारी कायम भएपछि भट्टराई अलपत्र परेका हुन् ।

सुरुमा घिमिरेलाई उम्मेदवारको टिकट दिएपछि सोही आधारमा उनले मनोनयन दर्ता गराएका थिए । बीचमा एमाले पोलिटब्युरो सदस्य समेत रहेका खिमलाललाई टिकट दिनुअघि नै घिमिरेले उम्मेदवारी दर्ता गरेपछि निर्वाचन आयोगले घिमिरेलाई नै आधिकारिकता दिएको छ ।

घिमिरेले आइतबार ३ः३० बजे मनोनयन दर्ता गरेका थिए भने भट्राईले ४ः४५ बजे दर्ता गराएका थिए । निर्वाचन निर्देशिका ०७९ को दफा १९ को (९) अनुसार एकै पार्टीका उम्मेदवारले उम्मेदवारी दिए जसले पहिले मनोनयन दर्ता गराएको हो उसैलाई आधिकारिकता दिने व्यवस्था छ ।

राष्ट्रियसभा सदस्यसँगै प्रतिनिधिसभाको टिकट समेत गुमाएपछि प्रतिक्रिया दिँदै नेता भट्टराईले जसले टिकट पाएपछि एमालेले जित्नुपर्ने प्रतिक्रिया दिए । उनले भने, ‘जसले आधिकारिकता पाए पनि, जोसुकै भए पनि एमालेका उम्मेदवारले देशभरि जित्नुपर्छ ।’

एमालेले जित्नुपर्ने बाहेक अरु कुनै प्रतिक्रिया आफूसँग नभएको उनको भनाइ छ । देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा एमालेले जित्नुपर्ने उनले बताएका छन् । यद्यपी एमाले अध्यक्ष ओलीले गल्ती नभई खिमलालको राजनीति भविष्यमाथि खेलबाड गरेको भन्दै वृत्तमा चर्को आलोचना भइरहेको छ ।

राष्ट्रियसभा सदस्यबाट राजिनामा दिन लगाएर प्रतिनिधिसभाको टिकट जानाजान अर्कै व्यक्तिलाई दिएको भन्दै अध्यक्ष ओलीको आलोचना भइरहेको छ । अध्यक्ष ओलीले खिमलालको राजनीति भविष्य सिध्याउनकै लागि घिमिरेलाई टिकट दिएर अहिले गल्ती भएको भन्दै ओठे जवाफ दिइरहेको भन्दै एमालेभित्र चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार १८:४६