सूचनाको शक्ति - The Power Of Information

        

छोराको चिता जल्न नपाउँदै बुवासहित १३ मलामी बेपत्ता

फाइल तस्वीर

तीन दिनअघि कालिकोट तिलागुफा नगरपालिका–४ का १८ वर्षीय हेमराज शाहीको मृत्यु भयो । आइतबार दिउँसो शव अन्त्यष्टि गर्न बुबासहित ६० बढी मलामी घरबाट निस्किए ।

तिलागुफा–४ राचुलीस्थित तीला र कर्णाली मिसिएको दोभानमा चिता तयार गरिसकेपछि मृतक हेमराजकै ६० वर्षीय बुबा कालीबहादुर शाहीले दागवत्ती दिए । चिता जल्दै थियो । बुवा कालीबहादुरसहित अन्य मलामीहरू नदीको किनारतिर फर्कँदै थिए ।

एक्कासि माथिबाट आएको पहिरोमा परेर मृतकका बुवासहित १३ जना मलामी बेपत्ता भए । ‘छोराको चिता राम्रोसँग जल्न नपाउँदै बुवा पनि बेपत्ता भए,’ तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले भने ‘बेपत्ता भएका मलामीहरू अझै भेटिएको छैन ।’

शाहीका अनुसार वडा नम्बर ४ का अध्यक्ष प्रसिद्ध शाही, कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका सदस्य, अनेरास्ववियुका विद्यार्थी नेताहरु सहित १३ जनालाई पहिरोले पुरेछ । पहिरोमा पुरीएर बेपत्ता हुनेहरू मृतकका नजिकका आफन्त र नातागोताका बढी छन् । बेपत्ता भएकाहरूको खोजी कार्य जारी भएता पनि भेटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयश्रर रिमालले जानकारी दिए ।

बेपत्ता हुनेहरूमा हेमराजका बुबा कालीबहादुर शाही, वडाध्यक्ष प्रसिद्ध शाही, प्रशान्त शाही, मोतिलाल शाही, नरेश शाही, छत्र शाही, धनबहादुर शाही, अनील शाही, मानबहादुर शाही र खगेन्द्र शाही छन् । पहिरो खस्ने क्रम नरोकिएका कारण उद्धारमा समस्या भएको डिएसपी रिजालले बताए ।

 

 

– लक्ष्मी भण्डारी । ईकागज

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार १५:५८