सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचनमा कति छन् उम्मेदवार ?

प्रतिनिधि र प्रदेशसभामा कूल पाँच हजार ९४८ जनाको उम्मेदवारी दर्ता

सात वटा प्रदेशसभामध्ये सबैभन्दा धेरै उम्मेदवार मधेश प्रदेशमा छन् भने सबैभन्दा कम उम्मेदवार कर्णाली प्रदेशमा छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि कूल पाँच हजार ९४८ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिनिधिसभामा कूल दुई हजार ५०२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा दुई हजार २६९ जना पुरुष र २३३ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रदेशसभातर्फ तीन हजार ४४६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमा तीन हजार १३९ पुरुष र २९६ महिला र एक जना अन्य रहेका छन् ।

आइतबार भएको उम्मेदवारी दर्ता कार्यक्रम अनुसार सात वटा प्रदेशसभामध्ये सबैभन्दा धेरै उम्मेदवार मधेश प्रदेशमा छन् भने सबैभन्दा कम उम्मेदवार कर्णाली प्रदेशमा छन् ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा भाग लिन अनुमति प्राप्त राजनीतिक दलको सङ्ख्या ८६ र समानुपातिकतर्फ ४८ रहेको छ ।

देशभरका १६५ प्रतिनिसभा सदस्य र ३३० प्रदेशसभा सदस्यका लागि यो निर्वाचन हुन लागेको हो । आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम छन् ।

निर्वाचनका लागि देशभर १० हजार ८९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ । यसअघि विसं २०७४ मङ्सिर १० र २१ गते गरी दुई चरणमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन भएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार १२:१३