बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ ।
सोमबार जिल्ला अदालत काठमाडौँले सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको लामिछानेका वकिल सरोज घिमिरेले जानकारी दिए । उनका अनुसार असोज २० बाट लागू हुनेगरी ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
दसैं बिदाका कारण अदालत बन्द रहेकाले सोमबार मात्रै म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराइएको थियो । कतारको दोहाबाट बिहीबार बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो ।
सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशालामा राखिएको छ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो ।
सत्यपाटी । काठमाडौं ।