सूचनाको शक्ति - The Power Of Information

        

बर्षाको कहर

पहिरो परेर मुगुमा ९ जना बेपत्ता, कालिकोटमा १५ जना सम्पर्कविहीन

मुगुको छायाँनाथ रारा नगरपालिकामा पहिरो पहिरोले परिएर ९ जना बेपत्ता भएका छन् । लगातार चार दिनदेखिको वर्षाले सालिम गाउँभन्दा माथिबाट पहिरो खसेपछि छायाँनाथ रारा नगरपालिका ८ झ्यारी गाउँका १० घर पूणर्रुपमा क्षति हुँदा ९ जना बेपत्ता हो ।

पहिरोका कारण १५० परिवार विस्थापित भएको र विस्थापितलाई प्रभात माध्यमिक विद्यालय रोवामा राखिएको नगरपालिका–११ की वडाध्यक्ष कुञ्जुमा कुमाइले जानकारी दिइन् । नगरपालिकाकै वडा नम्बर ७ टोप्ला गाउँमा पहिरोले घर भत्किँदा २५ भेडासहित लाखौँको धनमाल नष्ट भएको छ ।

गमगढी बजारस्थित कालिका मालिका मन्दिर नजिक करिव २० घर पहिरोको उच्च जोखिममा छन् । सञ्चारविहीन हुँदा अन्य क्षेत्रको क्षतिको विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ । यस्तै कालिकोटमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन् ।

तिलागुफा नगरपालिकाको वडा नम्बर ४ राँचुली गाउँमा मलामी गएका उनीहरु आइतबारदेखि सम्पर्कविहीन भएका हुन् । आइतबार दिउँसो १ बजेतिर मलामी गएका उनीहरु अझै सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

उक्त घटनाबारे प्रहरीलाई सोमबार आज बिहान ७ बजे मात्र खबर गरिएको कालिकोट प्रहरीले जनाएको छ । कालिकोट प्रहरीका सूचना अधिकारी शुरेशराज बमका अनुसार अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको छ । फोन सम्पर्क नहुँदा विस्तृत विवरण आएको छैन । घटनास्थलमा प्रहरी पुगेपछि मात्र थाहा हुने उनले बताए ।

प्रहरी चौकी नाग्मगाड र खल्लागाडबाट दुई टोली घटनास्थलतर्फ पठाइएको उनले बताए । बाढी पहिरोका कारण बाटो अबरुद्ध भएका कारण प्रहरीले जेसिबी साथमा लिएर त्यसतर्फ गएको बमले बताए । शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदीमा गएका वडाध्यक्ष परमबहादुर शाहीसहितका १५ जना सम्पर्कविहीन भएका हुन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार ११:३४