सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज नगरका अधिकांश स्थान जलमग्न

वर्षाका कारण नेपालगन्ज आसपास क्षेत्र जलमग्न, उम्मेदवारी दर्ता प्रभावित

आसपास क्षेत्रका सर्वसाधारण त्रसित

बिहानदेखि परेको अविरल वर्षाका कारण नेपालगन्ज आसपास क्षेत्र जलमग्न भएको छ ।

सहरका विभिन्न स्थान जलमग्न भएका कारण प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्ता कार्यक्रमसमेत प्रभावित भएको छ । वर्षाका कारण उम्मेदवारी दर्ताका लागि राजनीतिक दलका उम्मेदवार अलि ढिलो गरी मुख्य निर्वाचन कार्यालय पुगेका छन् ।

भारी वर्षाले नेपालगन्ज नगरका अधिकांश स्थान जलमग्न भएका छन् । नेपालगन्जको न्यूरोड, एमपी स्कुलरोड, फुल्टेक्रा, सेतु विक चोक, धम्बोझी बेलासपुर, कोरियनपुर, कारकादो, रानीतलाउलगायत स्थान तथा सडक जलमग्न भएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।

वर्षाले नरैनापुर, खजुरा, कोहलपुर, जानकी, बैजनाथ गाउँपालिकाका अधिकांश स्थान जलमग्न भएको प्रहरीले जनाएको छ । बाढी र डुबान सुरु भएपछि आसपास क्षेत्रका सर्वसाधारण त्रसित बनेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतवार १७:५९