सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली नदीले खतराको तह पार गर्‍यो

कर्णाली नदीले खतराको तह पार गरेको छ। मंगलबार देखि पहाडी तथा नदी आसपासका क्षेत्रमा परेको अविरल बर्षाका कारण कर्णालीमा पानीको सतह बढेको हो।

 

आइतबार साँझ कर्णाली नदीमा पानीको सतह ११ दशमलव ०८ पुगेको हाइड्रोजोजीमा जनाइएको छ। कर्णाली चिसापानीमा १० मिटर सतहलाई चेतावनी तह र १० दशमलम ८ मिटर पानीको सतहलाई खतराको तह मानिन्छ। नदी तटीय क्षेत्रहरूमा अविरल वर्षा भइरहेकाले नदी थप बढ्न सक्ने अनुमान गरिएको छ।

स्थानीय प्रशासनले नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयहरूलाई सुरक्षित भएर बस्न अनुरोध गरेको छ। पानीको सतह घटेको बबई नदी पुन खतराको तहमा पुगेको छ। समाचार तयार पारुञ्जेल बबई नदीको चेपाङमा पानीको सतह ६ दशमलव ११ मिटर पुगेको छ।

बबई चेपाङमा ५ दशमलव ५० मिटरलाई चेतावनी तह र ६ दशमलव १० मिटरलाई खतराको तह मानिन्छ। तटीय क्षेत्रका स्थानीयहरूलाई सुरक्षित रहन प्रशासनको आग्रह छ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतवार १७:५०