सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको डुडुवाका बाढी पीडितलाई खानाको व्यवस्थापन

बाँकेको डुडुवा गाउँपालिकाका बाढी पीडित विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा बसिरहेका करिब चार सय जनालाई पुग्ने गरी तत्काल तयारी खाजा र खानाको व्यवस्था गरेका हुन् ।

गाउँपालिका वडा नं. १ का छिटाईपुर्वास्थित दुई वटा पाझा टोलका करिब १ सय २० जना र सोही वडाअन्तर्गत कृषि चौफेरी, वोर्डर चौफेरी र गजराजपुर्वा गाउँका करिब २ सय ५० जना अहिले बाढी र डुबानबाट वस्थापित भएर गाउँ नजिकै पालिकाले निमार्ण गरेको आश्रयस्थलमा सबैजना बसिरहेको अध्यक्ष चौधरीले बताए ।

उनका अनुसार गाउँ र घर बाढीले सबै डुबान गरेपछि ज्यान सुरक्षित गर्दै अश्रयस्थलको शरणमा पुगेका स्थानीयहरुलाई अहिले तत्काल तयारी खाजा र ४–५ दिनका लागि पुग्ने खानाको व्यवस्थापन गरिएको छ ।

गाउँपालिका, शसस्त्र प्रहरी र नेपाली सेनाको गरि तीन वटा रबर बोटको प्रयोग गरि राप्ती नदीपारी बगरमा रहेका ती स्थानीयहरुलाई राहतको सामग्री पठाइएको छ । चिउरा, विस्कुट, चाउचाउ, भुजा र नमकिन नास्ताका लागि तयारी खाजा र खानाका लागि चामल, दाल, नुन, खुर्सानी, गुड, आलु, खाना पकाउने ग्यास चुलो र सिलिण्डर, मिनिरल वाटर र जार पानी लगायतको सामग्री पठाइएको छ । आश्रयस्थलमा रहेका सबैलाई केहीदिनसम्म खाना पुग्नेगरि व्यवस्थापन गरिएको छ ।

अध्यक्ष चौधरीले भने –“अब केही दिनसम्म स्थानीय पिडितहरु भोकै बस्नुपर्ने अवस्थाको अन्त्य हुन्छ, पछि अवस्थामा सुधार आएमा गाउँपालिकाले विशेष राहत प्याकेज उपलब्ध गराउने छ, ।”

वडा सदस्य समेत रहेका जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको नेतृत्वमा पालिकाका कर्मचारीद्धय विजयकुमार यादव र कौशलकुमार कैरातीको टोलीले राहतका सामग्री लगेर वाढी पिडितलाई उपलब्ध गराएको छ ।

उक्त टोलीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको उद्धार टोली समेतले सहयोग गरिरहेको छ । शनिबार राहत लगिएको छ भने नपुगेको स्थानमा आईतबार राहत लगायतका सामग्री लगिएको समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले बताए ।

यसैविच गाउँपालिकाको स्वास्थ्य शाखाले वाढीपिडितहरुका लागि स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ । शिविरमा वाढीपिडिहरुको स्वास्थ्यको चेकजाँच, निशुल्क औषधी वितरण गरिएको स्वास्थ्यकर्मी शैलेन्द्र शर्माले बताए ।

बाढी र डुबानबाट विभिन्न किसिमका स्वास्थ्य समस्या देखिएपछि गाउँपालिकाले तत्काल स्वास्थ्य टोली खटाएर औषधी उपचार गरेको स्वास्थ्य शाखाका सहसंयोजक विरेन्द्र घलेले बताए ।

स्वास्थ्य शाखाका सहसंयोजक घले, हेमन्त शर्मा, पवन कैराती, शैलेन्द्र शर्मा लगायतको टिमले स्वास्थ्य चेकजाँच गरिरहेको हो । बाढी र डुबानबाट बाँके जिल्लाको सो क्षेत्र सबै भन्दा बढी प्रभावित हुने गर्दछ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतवार १७:२४