सूचनाको शक्ति - The Power Of Information

        

बर्दियामा २ सयभन्दा बढी घर डुबानमा

तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण बर्दियामा २ सयभन्दा बढी घर डुबानमा परेका छन् ।

पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर, महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न छन् । अविरल वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो । गत मंगलवार साँझदेखि परेको अविरल वर्षाले गर्दा नेपालीको महान् चाड बडादशैँ पनि राम्रोसँग मनाउन नसकेको स्थानीय बासिन्दा बताउँछन् ।

बर्दियाको इन्द्रपुर गाउँपालिकाका विषराम ठाकुरले बस्ने घर डुबानमा परेकाले र बस्नका लागि अहिले समस्या भइरहेको बताए । त्यस्तै अर्की स्थानीय बालकुमारी बुढाक्षेत्रीले मानवीय क्षति नभए पनि गाउँमा घरहरू र खेतबारी भने बगाएको बताए। उनले घरहरू डुबानमा परेको र घरभित्र पानीले जमेकाले बस्न सक्ने अवस्था नरहेको बताए ।

आज दिउँसो लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । आइतवार राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आइतवार राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतवार १७:१४