सूचनाको शक्ति - The Power Of Information

        

अब स्वतन्त्र उम्मेदवार बन्लान् घनश्याम भुसाल ?

नेकपा एमालेबाट राजीनामा दिएको घोषणा गरेका नेता घनश्याम भुसालले स्वतन्त्रबाट उम्मेदवार बन्ने तयारी गरेका छन् ।

उनी निकट स्रोतका अनुसार भुसालले भोलि मनोनयनको दिनसम्म पर्खिने र अरु दलसँग कुरा नमिले स्वतन्त्रबाट उम्मेदवार बन्ने तयारी गरेका छन् । भुसालले आजै एमाले परित्याग गरेको घोषणा गरेका हुन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिताको आलोचना गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

‘म स्वयमले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना समेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैँप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु,’ भुसालले भनेका छन् ।

ओलीले टिकट नदिएपछि भुसालले शनिवार बिहान नेकपा माओवादी केन्द्रसँग चुनावका बारेमा छलफल गरेका थिए । तर, माओवादी केन्द्रबाटै उम्मेदवार बन्नेबारेमा भने केही तय भइसकेको छैन । भुसालले २०५३ सालको उपनिर्वाचनमा रुपन्देही २ बाट चुनाव जितेर संसदीय यात्राको थालनी गरेका थिए ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–३ बाट भुसाल निर्वाचित भएका थिए । २०३३ सालबाटै सक्रिय राजनीतिमा लागेका भुसाललाई यसपटक एमालेले भने पार्टीका तर्फबाट उम्मेदवार बन्न बन्चित गरेको थिए । भुसाल तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपा विवादका बेला तत्कालीन वरिष्ठ नेता माधव नेपालको पक्षमा उभिएका थिए ।

तर, एमाले विभाजनका बेलामा १० बुँदे सहमति गरेर उनी एमालेमै सक्रिय भएका थिए । १० औं महाधिवेशनमा उपाध्यक्षका लागि उनले चुनावी प्रतिस्पर्धा गरेका थिए । एमालेभित्र पनि उनले फरक मत राख्दै आएका थिए । भुसाल र अर्का नेता भीम रावललाई ओलीले यसपाली टिकट नदिएका हुन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार १६:१६