सूचनाको शक्ति - The Power Of Information

        

सिफारिसमै नपरेकालाई टिकट दिएपछि सुर्खेत एमालेमा विद्रोह

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूखुशी टिकट बाँडेपछि एमाले सुर्खेतले बिद्रोह थालेको छ । सुर्खेत निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (ख)मा एकल सिफारिस भएका खड्कबहादुर खत्रीको टिकट खोसिएपछि एमालेमा विद्रोह सुरु भएको हो ।

जसमा सिफारिसमै नपरेका एमालेका नेता डण्डीप्रसाद शर्मालाई केन्द्रीय पार्टी कमिटीले टिकट दिएको छ । शनिबार नेकपा एमाले सुर्खेतको जिल्ला सचिवालय बैठकले सुर्खेत निर्वाचन क्षेत्र नं.१ प्रदेशसभा (ख)को टिकट परिवर्तन तत्काल परिर्वतन गर्नुपर्ने निर्णय गरेको छ ।

नेकपा एमाले सुर्खेत अध्यक्ष अमृतकुमार बिसीले सुर्खेत निर्वाचन क्षेत्र नं.१ प्रदेशसभा (ख)को टिकट परिर्वतन नभए आसन्न निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउनै नसकिने बताए । उनले उक्त क्षेत्रमा पार्टीले हरेमा हारको जिम्मेवारी केन्द्रीय कमिटीले लिनुपर्ने निर्णय गरेर एमाले केन्द्रीय कार्यालयलाई चिठी पठाएको जानकारी दिए ।

अध्यक्ष विसीको अध्यक्षतामा बसेको सचिवालय बैठकले पार्टीको अन्तरपार्टी निर्देशन बमोजिम एकलरुपमा सिफारिस भएका निवर्तमान प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री खत्रीलाई टिकट नदिएर सिफारिसमै नपरेका प्रदेश कमिटी सदस्य शर्मालाई टिकट दिनु पार्टी विधान र निर्देशन बिपरित भएको ठहर गरेको छ ।

बैठकले सम्बन्धित निर्वाचन क्षेत्रमा नामावली समेत नभएका र सधैं पार्टी अनुशासन उलङ्घन गरि पार्टीविरुद्ध सार्वजनिकरुपमै लागेका शर्मालाई उम्मेदवार बनाउदा आम कार्यकर्ता र मतदाताको भावना प्रतिकुल हुने निष्कर्षसहित सुर्खेत १ (ख) को टिकट परिवर्तन नभए चुनाव जिताउन नसकिने र हारको जिम्मेवारी केन्द्रीय कमिटीले लिनुपर्ने निर्णय गरेको हो ।

‘शर्मालाई उम्मेदवार बनाउने निर्णयलाई जिल्ला कमिटी सुर्खेत पूर्णरूपमा असहमति प्रकट गर्दछ,’ निर्णयमा उल्लेख गरिएको छ । खत्रीलाई गत भदौ १८ गते बसेको नेकपा एमाले प्रदेश समन्वय समितिको बैठकले एकलरुपमा नाम सिफारिस गरेको थियो । एकल रुपमा सिफारिस भएपछि उनी प्रचार–प्रसारमा समेत जुटिसकेका थिए ।

आउँदो मंसिर ४ गते तोकिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि दलहरूले धमाधम उम्मेदवार चयन गरिरहेका छन् । यसअघि शर्माले सुर्खेतको प्रतिनिधि सभा १ मा उम्मेदवार बन्ने चाहाना राखे पनि एमाले समन्वय कमिटीको बैठकले निवर्तमान सांसद धुर्वकुमार शाहीलाई सिफारिस गरेको थियो ।

एमाले केन्द्रको निर्णयपश्चात प्रदेश इन्चार्ज यामलाल कँडेलले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई सुर्खेतमा आएर चुनाव लड्नसमेत भनेका छन् । प्रदेश इन्चार्ज कँडेलले अध्यक्ष ओली र महासचिव पोखरेललाई फोन गरेर केन्द्रको निर्णय तत्काल फिर्ता नलिए आफू चुनाव नलड्ने घोषणा गरेपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ ।

‘उहाँले महासचिव कामरेड र अध्यक्ष कामरेडलाई आज विहान फोन गर्नुभएको थियो । डण्डीलाई दिएको टिकटको निर्णय फिर्ता गरेर खड्क खत्रीलाई टिकट नदिएको खण्डमा आफूहरु चुनाव नलडने बरु कसलाई चुनाव लडाउने हो त्यतैबाट पठाइदिन भन्दै धम्की दिनुभयो,’ एमाले स्रोतले भनेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार १५:१९