सूचनाको शक्ति - The Power Of Information

        

गठबन्धनबाट बाहिरिएपछि जसपालाई घाटा, चार मन्त्रीको पद ‘चैट’ !

जनता समाजवादी पार्टीका चार जना मन्त्रीको पद ‘चैट’ हुने भएको छ । सत्ता गठवन्धनबाट बाहिरिएसँगै चार जना मन्त्रीको पद जाने भएको हो ।

जसपाले सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, वन तथा वातावरणमन्त्री प्रदीप यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंहको पद जाने भएको हो ।

निर्वाचन आचारसंहिता लागू भइसकेकाले नयाँ मन्त्री नियुक्त गर्न मिल्दैन । सत्ता गठवन्धनले जम्मा १६ सिट दिने भएपछि जसपा गठवन्धनबाट बाहिरिएर नेकपा एमालेसँग निर्वाचनमा तालमेल गरेपछि चार मन्त्रीको पद जाने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

सत्ता गठवन्धनमा ३२ सिट दावी गरिरहेको जसपाका माग पुरा नभएपछि गठवन्धनबाट बाहिरिँदै एमालेमा २५ सिट मागेको थियो । १४ जिल्लाका सिटमा एमालेसँग तालमेल गर्दै जसपाले १७ सिटमा उम्मेदवारी दिने भएको छ ।

सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच सिट बाँडफाँट हुँदा जसपाले २२ सिट पाउने पक्का भएको थियो । तर, २२ सिट मात्र दिएर आफ्नो अवमूल्यन भएको भन्दै एमालेसँग तालमेल गर्न पुगेको जसपाले गठबन्धनले दिएको भन्दा पाँच सिट कम पाएको छ ।

सत्तारुढ गठबन्धनमा रहँदा ३२ सिट दाबी गरेको जसपा एमालेले १७ सिट मात्र दिने भएपछि पुनः गठबन्धनमै फर्कन खोजेको थियो । तर, गठबन्धनले शुक्रबार राती नै सिट बाँडफाँट टुङ्ग्याएका कारण बाध्य भएर जसपाले १५ सिटमा चित्त बुझाउनु परेको हो ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार १३:४४