सूचनाको शक्ति - The Power Of Information

        

बाढी र डुबानले बाँकेका चार हजार परिवार विस्थापित

अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँके जिल्लामा चार हजार परिवार विस्थापित भएका छन् ।

बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानमा करिब ५० कच्ची घर पूर्णरुपमा भत्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म जिल्लामा कुनै पनि मानवीय क्षति नभएको र अधिकांश स्थान बाढीले क्षति पुर्याएको छ । बाडीका कारण सबैभन्दा धेरै राप्तीसोनारी गाउँपालिका–२ स्थित टिकुलीपुर गाउँका करिब तीन हजार परिवार विस्थापित भएका छन् ।

डुडुवा गाउँपालिका–१ चौफेरी, कृषि चौफेरी र पाझा गाउँमा ३००, नरैनापुर गाउँपालिकामा ३००, खजुरा गाउँपालिकामा १०० र नेपालगन्ज उपमहानगरपालिका–२० मा ३०० जना परिवार विस्थापित भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ ।

केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानबाट विस्थापित भएकाहरू सबै सुरक्षित रुपमा आश्रयस्थलमा बसिरहेका छन् । राप्ती नदी पुल पारी बगर क्षेत्रमा फसेका तीन जनालाई प्रहरीको उद्धार टोलीले आज बिहान उद्धार गरेको छ ।

हिजो शुक्रबारदेखि विस्थापित भएकाहरूले खानासमेत नपाएको अवस्थामा स्थानीय तह वडा कार्यालयले ड्राइफुड तयारी खाजाको व्यवस्थाका लागि तयारी सुरु गरिएको प्रजिअ खत्रीले बताए । उनका अनुसार जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा विस्थापितहरुको उद्धार, व्यवस्थापन, तत्काल राहत लगायतका विषयमा छलफल भइरहेको छ ।

बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीले बाढीको चपेटामा परेकाहरूलाई सुरक्षित उद्धार गरी सुरक्षित स्थानमा राखेका छन् । रातिदेखि वर्षा रोकिएकाले राप्ती नदीको पानी बिस्तारै घट्न थालेको छ । जिल्लाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था रहेको गाउँपालिका जनप्रतिनिधिहरू बताउँछन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार १३:२५