सूचनाको शक्ति - The Power Of Information

        

भीम रावलको टिकट खोसिएपछि अछाममा अछाममा विद्रोह !

नेकपा एमालेका पूर्वउपाध्यक्ष डा.भीम रावलको टिकट खोसिएपछि उनको गृहजिल्लामा असन्तुष्टि तीव्र भएको छ । अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस रावलको टिकट खोसिएपछि एमाले अछाममा विद्रोहको तयारी भएको छ ।

एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरुले शनिबार सामूहिक राजीनामा दिने तयारी गरेका छन् । त्यसका लागिग शनिबार दिउँसो १२ बजे भीम रावलनिकट नेताहरुले अछाममा भेला डाकेका छन् ।

‘एकल सिफारिस भएका लामो समयदेखि सक्रिय जित्ने उम्मेदवारको टिकट खोसेर अरुलाई दिइएको छ, यो षड्यन्त्रपूर्ण अन्यायको विरोध गर्छौँ,’ अछामका एकजना एमाले नेताले भने, ‘क्षेत्र नं.१ का सम्पूर्ण कमिटी र जिल्ला कमिटी पदाधिकारीले जिम्मेवारीबाट सामूहिक राजीनामा दिँदैछौँ ।’

जिल्ला कमिटी हुँदै प्रदेश कमिटीबाट अछाम १ का लागि सर्वसम्मत सिफारिस रावलको टिकट खोसेर एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आएका झपड बोहरालाई दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री समेत रहेका अछाम १ मा टिकट पाएका बोहरा माओवादीबाट एमालेमा समाहित भएका नेता हुन् ।

१० औँ महाधिवेशनताका सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा रावलले धावा बोलेका थिए । त्यसपछि उनीहरु दुईबीचको सम्बन्ध बिग्रिएको छ । एमाले विभाजन हुँदा १० बुँदे सहमतिपछि माधवकुमार नेपालको साथ छोडेर रावल एमालेमै बसेका थिए । एमाले नेता रावलले अछामबाट वि.सं. २०४८ सालदेखि नै चुनाव लडिरहेका छन् ।

०४८ सालमा चुनाव हारेका रावल ०५१ सालको मध्यावधि चुनावमा अछाम १ बाट जितेका थिए । भीम रावल ०५६ सालको चुनावमा एमाले–माले फुटेको कारण फेरि चुनाव हारे । त्यसपछि ०६४ को चुनावमा उनी समानुपातिकतर्फ लागे । ०७० र ०७४ को चुनावमा रावल क्षेत्र नम्बर १ बाटै दुईचोटि सांसद बनेका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार १२:४४