सूचनाको शक्ति - The Power Of Information

        

पहिरोले अवरुद्ध सडकः केही खुले, केही खुल्न बाँकी

अविरल वर्षासँगै पहिरो जाँदा देशभर विभिन्न सडकखण्डहरु अवरुद्ध भएका छन् । केही खुलेका छन् भने केही खुल्न बाँकी छ । अहिले देशभर धेरै ठाउँमा सडक अवरुद्ध छ ।

पहिरोले अवरुद्ध केही सडक सुचारु भएर सञ्चालनमा आएको छ भने, केही अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एसपी शैलेन्द्र खड्काले बताउनुभयो ।

उहाँका अनुसार देशका प्रमुख राजमार्ग (हाइवे) भने पूर्णरुपमा सञ्चालनमा छ । उहाँले भन्नुभयो, “प्रमुख रागमार्ग (हाइवे) पूर्णरुपमा सूचारु छ, नारायणगढ–मुग्लिन सडक बिहान ८ बजे नै खुलेको छ, पृथ्वी राजमार्ग पनि खुलेको छ, पहाडी भेगका केही जिल्लामा केही सडक अझै अवरुद्ध छन्, पानी परिरहेकाले खुलाउने प्रयास जारी छ ।” त्यसका लागि ट्राफिक प्रहरी निरन्तर सूचना दिइरहेको छ ।

उहाँले भन्नुभयो, “ट्राफिक प्रहरीसँग स्रोतसाधन नभएकाले उसको सूचना दिने काम हो, गर्छ र निरन्तर हाम्रो सम्पर्कमै छ ।” पृथ्वी राजमार्ग सञ्चालन गरिएको छ । आज बिहान पृथ्वी राजमार्गको दुई ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएकोमा पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको हो ।

उहाँका अनुसार देशभर ससाना धेरै स्थानमा पहिरोले राजमार्ग अवरुद्ध गरेको छ । बेनी, लमजुङलगायतका सडक पनि अवरुद्ध छ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो पन्छाएर दुईतर्फी सडक सञ्चालनमा आएको छ ।

म्याग्दे गाउँपालिका–१ गुणादीमा एकतर्फी सडक सञ्चालनमा आएको छ । राजमार्ग सञ्चालनमा आएपछि रोकिएका सर्वसाधारण गन्तव्यतर्फ लागेका पनि उहाँले जानकारी दिनुभयो ।

निरन्तर वर्षा भएकाले अझै पहिरोको जोखिम देखिएकाले छ । पहिरो जानसक्ने सम्भावनालाई विचार गरी टोली तयारी अवस्थामा रहेको पनि एसपी खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अविरल वर्षाले राजमार्ग अवरुद्ध हुँदै आएको छ । कतिपय अवरुद्ध सडक खुले पनि पानी नरोकिएकाले  पुनः अवरुद्ध हुने गरेको छ ।” विभिन्न राजमार्ग र सडकखण्डहरु अवरुद्ध हुँदा दशैँ मान्न हिँडेकाहरु  जाममा परेका छन् ।

वर्षाले यात्रा जोखिमपूर्ण छ । “यसका लागि सतर्कता अपनाउन हामीले निरन्तर भनिरहेका छौँ,” खड्काले भन्नुभयो । आज बिहान मुग्लिन–नागढुङ्गा सडकखण्डको खत्रीपौवामा पनि पहिरो खसेर केहीबेर सडक अवरुद्ध थियो । पहिरो खसेर धेरै ठाउँमा समस्या छ ।

साँफेबगर–मार्तडी सडकखण्डमा पनि सवारी चलेको छैन । सुर्खेत र पाल्पालगायतका सडक डिभिजनले आफ्नो क्षेत्रको बारेमा जानकारी दिइरहेकाले धेरै स्थानमा एकतर्फी भए पनि सडक भने सञ्चालनमै रहेको उहाँले बताउनुभयो ।

एसपी खड्का अनुसार केही सडकखण्ड सञ्चालनमा रहे पनि रातको समयमा सवारी सञ्चालन गर्दा समस्या हुन्छ । डुम्रे–बेसीसरहर खण्डको उदिपुरमा पनि पहिरोले समस्या छ ।

बेंसीसहर चामे सडकखण्डको रामबजार र खोत्रोमा पहिरो खसेर समस्या छ । मध्यपहाडी लोकमार्ग अन्तर्गगतका विभिन्न खण्डहरु पनि पहिरोले अवरुद्ध छ ।

पहिरोले विभिन्न सडक अवरुद्ध गरे पनि डोजरसहितको जनशक्ति परिचालन गरिएको छ । उहाँले भन्नुभयो, “अपरेटरहरु तयारी अवस्थामा छन्, प्रहरी चौकीहरुमा अपरेटरको नम्बर छ, पहिरो जाने बाटो खुलाउने व्यवस्थापन गरिएको छ ।” कतिपय स्थानमा पहिरो खसिरहने समस्याले सडक खुलाउन निकै समस्या हुने गरेको पनि उहाँले बताउनुभयो ।

यता, उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता (एसपी) अवदेश विष्टका अनुसार काठमाडौं उपत्यकाको बाटोलाई पहिरोले कुनै असर गरेको देखिएको छैन ।

उहाँले भन्नुभयो, “उपत्यकाका सबै सडक सुचारु छन्, पहिरोले त्यस्तो असर गरेको छैन ।” उपत्यकाको यातायातमा पहिरोले अवरोध नगरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार १६:०९