सूचनाको शक्ति - The Power Of Information

        

राप्रपाले टुंग्यायो उम्मेदवारको नाम, झापामा एमालेसँग तालमेल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुंगो लगाएको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सबै जिल्ला कार्य समितिले दुवै निर्वाचनका लागि पठाएका करिब सात सय उम्मेदवारमध्येबाट प्रतिनिधिसभामा एक सय ६५ र प्रदेशसभामा तीन सय ३० उम्मेदवार केन्द्रले छनोट गरेको छ।

विभिन्न राजनीतिक दलबाट तालमेलका लागि प्रस्ताव आइरहेकाले जिल्लाको वस्तुस्थितिका आधारमा जुनसुकै राजनीतिक दलसँग पनि तालमेल गर्न पार्टीले जिल्ला समितिलाई सुझाव दिएको छ।

समान विचार भएका केही दल तथा समूहसँग एकताका लागि पार्टीले आग्रह गरेकाले पनि परिवर्तित अवस्थामा केही पार्टीसँग तालमेल हुनसक्ने छ। त्यसरी तालमेल भएमा केही निर्वाचन क्षेत्रका नाम परिवर्तन हुनसक्ने नेता सुन्दर पाण्डेले जानकारी दिए।

राप्रपा र नेकपा (एमाले) को शीर्ष नेतृत्वबीच तालमेलका लागि छलफल भइरहेकाले के कति सिट सङ्ख्यामा समझदारी कायम हुन्छ, त्यसका आधारमा सम्बन्धित जिल्ला कार्य समितिले केही उम्मेदवारका नाम परिवर्तन गर्नेछ।

दुवै पार्टीका अध्यक्षबीच आज भेट गरी तालमेलमा सिटको टुङ्गो लगाउने कार्यतालिका छ।   जिल्ला निर्वाचन कार्यालयमा यही असोज २३ गते जिल्ला कार्य समितिले केन्द्रसँग समन्वय गरी उम्मेदवारको नाम दर्ता गराउने छ।

झापामा एमालेसँग तालमेल

राप्रापाले झापामा भने नेकपा एमालेसँग तालमेल गर्ने भएको छ। एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग चुनावी तालमेल गर्ने निर्णय अनुसार एमालेले प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ १ क्षेत्र छाड्ने भएको छ।

सिट बाँडफाँट मिलेसँगै एमालेले उम्मेदवार समेत टुंगो लगाएको एमालेका एक नेताले जानकारी दिए। ती नेताका अनुसार झापा–३ एमालेले राप्रपालाई छाड्ने भएको छ।

झापा क्षेत्र नं ५ मा अध्यक्ष केपी शर्मा ओली, ४ मा लालप्रसाद (एलपी) साँवा लिम्बू, २ मा स्थायी कमिटी सदस्य देवराज घिमिरे र १ मा स्थायी कमिटी सदस्य अग्नि खरेलको उम्मेदवारी रहने भएको छ।

खरेल यसअघि २ बाट उमेदवार बन्‍ने गरेका थिए। झापा–३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको उम्मेदवारी हुनेछ।  क्षेत्र नं १ मा पार्टी केन्द्रले स्थायी कमिटी सदस्य खरेललाई अघि सार्ने निर्णय गरेको हो।

क्षेत्र नं २ बाट सिफारिसमा परेका खरेललाई पार्टीको आवश्यकता र विपक्षीलाई टक्कर दिन सक्ने उम्मेदवारका रुपमा अघि बढाइएको एमाले नेता हिक्मत कार्कीले बताए।

एमालेले राप्रपलाई झापाका २ प्रदेश सभा छाडेको छ। प्रदेशतर्फ क्षेत्र नं ५ का दुई क्षेत्रमा स्थायी कमिटी सदस्य प्रदेश क मा हिक्मत कार्की र ख मा प्रदेश सदस्य होमबहादुर थापा उम्मेदवार बनाउने भएको छ।

क्षेत्र नं ४ क बाट एमालेका राधाकृष्ण खनाललाई उम्मेदवार बनाउने छ। त्यस्तै, यो क्षेत्रको ख राप्रपाले पाउने भएको छ। क्षेत्र नं ३ ख मा केन्द्रीय सदस्य हरि राजवंशी र क मा प्रदेश सदस्य एवं निवर्तमान प्रदेश सांसद बसन्त बानियाँ उम्मेदवार हुनेछन्।

क्षेत्र नं २ मा प्रदेश सचिव चिन्तन पाठक र प्रदेश सदस्य एवं निवर्तमान साँसद एकराज कार्की दोहोरिने छन्। क्षेत्र नं १ को एउटा क्षेत्र राप्रपालाई छोडेर अर्को क्षेत्रमा एमाले केन्द्रीय सदस्य रविन कोइरालालाई उम्मेदवार बनाउने तयारी छ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार १६:०६