सूचनाको शक्ति - The Power Of Information

        

अध्यक्ष ओलीको प्रस्ताव अष्टलक्ष्मीले ठाडै अस्वीकार गरेपछि…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय राजनीति नगर्ने घोषणा गरेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न प्रस्ताव गरेका छन् । अध्यक्ष ओलीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा प्रत्यक्ष निर्वाचन लड्न प्रस्ताव गरेका हुन् ।

तर ओलीको प्रस्ताव उपाध्यक्ष शाक्यले अस्वीकार गरेकी छन् । ‘अहिले मुलुकको राजनीति धेरै जटिल छ । यो अवस्थामा तपाई काठमाडौं ८ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्नुस्,’ अध्यक्ष ओलीले शाक्यलाई केही दिनअघि भनेका थिए, ‘तपाईंले संसदीय राजनीति नगर्ने भन्नुभएछ । त्यो अभिव्यक्ति फिर्ता लिनुस् अहिले नै छोड्ने बेला भएको छैन ।’

जवाफमा शाक्यले आफुले यसअघि नै संसदीय राजनीति नगर्ने भनेर बोलेको भन्दै आफु सोही अडानमा कायम रहेको बताएकी थिइन् । ‘मैले बारम्बार संसदीय राजनीति गर्दिन, पार्टी काममात्र गर्छु भनेको हो, अव मलाई पुग्यो पनि । किनभने अरु नयाँलाई पनि ठाउँ दिनुपर्छ । म पटकपटक सांसद मन्त्री र मुख्यमन्त्री समेत भैसकेको पनि छु,’ शाक्यले ओलीको प्रस्ताव अस्वीकार गर्दै जवाफ दिएकी छन् ।

शाक्यले उम्मेदवार बन्न अध्यक्षबाट प्रस्ताव आएको स्वीकार गरिन् । उनले भनिन्, ‘मलाई अध्यक्षले काठमाडौ निर्वाचन क्षेत्र नम्बर–८ बाट उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको हो । तर मैले मलाई पुग्यो नयाँ खोज्नुस् भन्ने जवाफ दिएँ ।’ शाक्यले आफुले चुनाव नलड्ने आग्रह गर्दा पनि अध्यक्षले केही दिन समय रहेको र सोच्न भनेको बताइन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार १२:०५