सूचनाको शक्ति - The Power Of Information

        

सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गर्दै जसपा

सत्ता गठबन्धनको आजको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान ९ बजेबाट जारी गठबन्धनको बैठकमा जसपाका नेताहरु सहभागी नभएको कांग्रेस महामन्त्री गगन थापाले बताए ।

थापाका अनुसार बैठकमा कांग्रेस माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरु मात्र सहभागी छन् । अब विगतमा जसपाले दाबी गरेका क्षेत्र कांग्रेस, माओवादी र एकीकृत समाजवादीले बाँडफाँट गर्ने भएका छन् ।

यसमा केही समय लाग्ने भन्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कार्यसम्पादन समितिको बैठक मध्यान्ह १२ बजे बोलाएका छन् । सिट बाँडफाँटको कुरामा सहमति नहुन नसकेपछि विहीबारबाटै गठबन्धनबाट बाहिरिएको थियो । जसपा एमालेसँग तालमेलको तयारीमा छ ।

विहीबार गठबन्धनसँग अन्तिम बैठक गरेर जसपा अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आजै अबेरसम्म सिट बाँडफाँट टुंग्याउने एमाले र जसपाको तयारी छ । उनका अनुसार २०–२२ सिटमा एमाले र जसपाबीच सहमति हुनेछ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार ११:५७