बागलुङ नगरपालिका वडा नं. ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो । महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौं घरपरिवारले दशैंको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन् ।
भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षापछि जमिन बग्न थालेको थियो । निरन्तर बगिरहेको जमिनमा दशैंका बेला भइरहेको भारी वर्षाले झन् असर गरेको छ । जमिन बग्दा सडक, ठूला पीपलका रूखसमेत बगेका छन् ।
पहिरो खस्न थालेपछि स्थानीय किसानले लगाएका सुन्तलाको बगान, कुखुरा फार्म लगायत सबै पुरिएका छन् । कतिपय घर चिरा परेका छन् भने केही किसानका घर र गोठ भत्केका छन् ।
‘पहिला एउटा पाटोमा मात्रै ठूलो पहिरो थियो, अहिले अर्को पाटो पनि बग्यो,’ वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘सुरक्षित छन् भनेका घर र यहाँ रहेका पशुपक्षीको फार्मसमेत पुरिने अवस्थामा पुगे ।’ भारी वर्षा र पहिरोसँगै खसेको भेल गाउँ पसेको छ ।
‘आफ्नो घर छ, तर पहिरोले राज गरेको छ । अर्कैको घरमा दशैं मनाउनुप¥यो । बासबिनाको दशैं खल्लो भयो,’ स्थानीय कुलराज शर्माले भने, ‘छिमेकीका घर पनि चिरा परेका छन् । जुनसुकै बेला खस्छन् । हाम्रो दशैं भागाभागमै बित्यो ।’
यो बस्तीका खानेपानीको ट्यांकसमेत बगेपछि स्थानीयवासी चिन्तामा छन् । उक्त पहिराले दर्जन बढी घरपरिवार विस्थापित भइसकेका छन् । केही घरपरिवार सुरक्षित ठाउँको खोजीमा रहेको अर्का स्थानीयवासी विष्णु पौडेलले जानकारी दिए ।
जमिन चिरा परेको स्थान हेर्दा थप सयौं रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको देखिएको उनले बताए । पहिरोले यहाँको तमाखुवारी भन्ने अर्को बस्तीमा पनि जोखिम बढेको छ । ‘यो संकेत हेर्दा यहाँको बस्ती नै जोखिममा भयो । पहिलाभन्दा अब धेरै घर विस्थापित हुने भए,’ पौडेलले भने, ‘अर्बौं खर्चेर पनि रोकथाम हुने अवस्था छैन ।’
बगेको पहिरोले जैमिनी नगरपालिका वडा नम्बर १ को ओडार भन्ने स्थानमा पनि दर्जन घर विस्थापित भएका छन् । उनीहरूले पनि यो वर्षको दशैं आफ्नो घर छोडेर अर्कैको घरमा मनाए । रामतोलादेखि तल्लो खण्ड जैमिनी नगरपालिका–१ मा पर्छ ।
रासस । बागलुङ ।