सूचनाको शक्ति - The Power Of Information

        

भत्कियो पाँच दलीय गठबन्धन

आगामी चुनावमा सिट बाँडफाँटलाई लिएर विवाद भएपछि पाँच दलीय गठबन्धन भत्किएको छ । सत्ता गठबन्धनको एउटा दल जनता समाजवादी पार्टी जसपा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिल्न पुगेको छ ।

एमाले र जसपाबीच आगामी चुनावमा तालमेल गरेर जाने सहमति भएको छ । एमाले नेता रघुवीर महासेठको घरमा दुई दलबीचको सहमतिलाई अन्तिम रुप दिइएको छ ।

मधेस प्रदेशका बहुमत सिट जसपालाई दिन एमाले तयार भएको छ । त्यसवाहेक लुम्बिनी र प्रदेश १ का केही सिट पनि उसले पाउनेछ । केही स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको दुई दलले बताएका छन् ।

यसअघि कम सिट पाएको भन्दै जसपाका अध्यक्ष उपेन्द्र यादव बालुवाटारमा पाँच दलको बैठक छाडेर एमाले अध्यक्ष केपी ओलीसँग वार्ता गर्न बालकोट पुगेका थिए  ।

गठबन्धनमा जसपालाई प्रतिनिधिसभामा १६ सिट दिने तयारी थियो । तर त्यसबाट असन्तुष्ट बनेको जसपाले एमालेसँग पनि समानान्तर रुपमा वार्ता गरेको हो ।

त्यसअघि एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादवबीच थुप्रै चरणमा वार्ता भएका थिए । यि दुई दलबीचको सहमतिसँगै पाँच दलीय गठबन्धन भने औपचारिक रुपमा भत्किएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार ०८:०२