सूचनाको शक्ति - The Power Of Information

        

समानुपातिकको बन्दसूचीबाट २९ जनाको नाम फिर्ता, सबैभन्दा धेरै कांग्रेसका

आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पेस गरिएको बन्दसूचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

यही असोज १६ गतेसम्म संशोधन पेस गर्न दिइएको समयमा समानुपातिक बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा यही असोज १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिन सकिने भनिएको थियो ।

यस प्रणालीका लागि निर्वाचन आयोगद्वारा तोकिएका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार प्रतिनिधि सभातर्फ नौ र प्रदेश सभातर्फ २० उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

फिर्ता लिनेमा दुवै तहमा गरी नेपाली कांग्रेसका नौ, नेकपा (माओवादी केन्द्र) का दुई, जनता समाजवादी पार्टीका पाँच, एकीकृत समाजवादी र जनता समाजवादीका पाँच, नागरिक उन्मुक्ति पार्टीका एक, पुनः जागरण पार्टीका एक र राष्ट्रिय नागरिक पार्टीका पाँच जना रहेका छन् ।

उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई आयोगले असोज १७ गते नै जानकारी दिइसकेको छ । यही असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएका कारणबाट रिक्त हुने ठाउँमा त्यही समूहले अर्काे उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार १७:४४