सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका बाढी र डुबान क्षेत्रको मन्त्री ईस्तियाक राईद्वारा निरीक्षण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईस्तियाक राईले बाँकेका केही बाढी र डुबान क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।

दुई दिनदेखिको अविरल बर्षाका कारण जिल्लाको डुडुवा गाउँपालिकाका केही गाउँमा राप्ती नदीको बाढी पसेको र केही ठाउँमा डुडुवा खोलाले डुबान गरेकोले मन्त्री राईले निरीक्षण गरेर अवस्था बुझ्नु भएको हो ।

मन्त्री राईले टेपरी गाउँ, पिप्रहवा र चौफेरी नजिक पुगेर ती ठाउँ लगायत राप्ती नदी र डुडुवा खोलाको अवस्था निरीक्षण गर्नुभयो । सो अवसरमा उहाँले स्थानीय वासिन्दासँग भेटघाट गरेर सचेत रहन आग्रह गर्दै डुबान बढेमा सुरक्षित स्थानमा सारिने बताउनुभयो ।

सो अवसरमा मन्त्री राईले  कुनै पनि समस्या परेमा सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कृषि चौफेरी र पाजा गाउँमा बाढी  पसेको र त्यहाँ पुग्ने बाटो समेत अवरुद्ध भएकोले सो स्थानमा मन्त्रीको टोली पुग्न नसकेको जनता समाजवादी पार्टी बाँकेका सचिव राजेन्द्र बिश्वकर्माले बताउनुभयो ।

राप्ती नदीको बाढीले  नदी वरिपरिका क्षेत्रमा डुबान भएको जानकारी आइरहेको जनाउँदै जिल्ला प्रशासन कार्यालयले सो बारेमा सतर्कता अपनाउनुका साथै जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा लग्ने काम भइरहेको जनाएको छ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार १७:३७