मंगलवारदेखि लगातार परेको वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् ।
मुख्यगरी नरैनापुरको वडा नं. १ बनियाँगाउँ, ४ को घोडदौरिया, ५ को जमुनहा, ६ को दोधरा क्षेत्रमा रहेका घरहरूमा पानी पसेपछि जनजीवन प्रभावित बनेको गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।
गाउँपालिका अध्यक्ष शाहले वर्षाले नरैनापुर आसपासका विभिन्न वडाहरू जलमग्न हुनुका साथै दर्जनौं बढी घरमा पानी पसेको जानकारी दिए । उनले भने, ‘विभिन्न ठाउँबाट घरमा पानी पसेको गुनासो आइरहेको छ, यकिन तथ्यांक संकलन गर्न वडाध्यक्षसहित म टोल–टोलको अनुगमन गरी रहेको छु ।’
वडा नं. ४ का अध्यक्ष मनोज शर्माले भने, ‘घोडदौरीया गाउँमा १० वटा घरमा क्षति पुगेको बताउँदै निरन्तर परिरहेको पानीले अझ बढी क्षति हुने सम्भावना रहेकाले सचेत हुन स्थानीयहरूलाई अपिल गरेको बताए ।
वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यका अनुसार कतिपय घरमा खोलाको पानी पसिसकेको अवस्था छ । समयमा पानी नपरेपछि धानबाली लगाउन नपाएर समस्या झेल्दै आएका नरैनापुरबासीलाई दैनिक छाक टार्न समस्या भएको अवस्थामा बाढी बस्तिमा पस्न थालेपछि थप समस्या भएको उनले गुनासो गरे ।
घरभित्रै पानी पसेपछि स्थानीयले घरमा भएका सामान सार्न थालेका छन् । त्यहाँका स्थानीयले घरमाथि पाल टाँगेर बस्न बाध्य भएका छन् । घरभित्र पानी पसेपछि घरदेखि माथि चौरमा पाल टाँगेर बस्नु परेको स्थानीय लियाकत साईले बताए ।
यता नरैनापुर गाँउपालिका अध्यक्ष शाहले निरन्तर पानी परीरहेकोले सचेत हुन आग्रह गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बाढी प्रभावित क्षेत्रमा पुगिसकेको जानकारी दिए ।
सत्यपाटी । बाँके ।