सूचनाको शक्ति - The Power Of Information

        

नारायणी नदीले खतराकाे तह पार गर्‍याे, गण्डक ब्यारेजका सबै ढाेका खाेलियाे

लगातारकाे वर्षाका कारण त्रिवेणीमा रहेकाे गण्डक ब्यारेजमा नारायणी नदीको जल सतहले खतराको तह पार गरेको छ ।

तीन लाख क्युसेक पानीलाई खतराको तह मानिने गण्डकमा दिउँसो ३ बजेको मापनअनुसार जल सतह तीन लाख चार सय क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय (नवलपरासी–बर्दघाट सुस्ता पूर्व) नवलपुरका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताउनुभयो ।

नारायणी नदीमा पानीको सतह बढेपछि प्रहरीले मध्यविन्दुको कोल्हुवा र त्रिवेणी, गैँडाकोट क्षेत्रमा सचेत रहन माइकिङ गरेको छ ।

गण्डक ब्यारेजमा पानीको सतह चेतावनीको तह पार गरेपछि यसअघि नै ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ । पानीको सतह बढेसँगै बिहान १० बजेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको प्रहरी प्रमुख तिवारीले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरण तथा आपत्कालीन उद्धारका लागि जिल्लाभित्रका सबै सुरक्षा फोर्स उद्धार सामग्रीसहित तयारी अवस्थामा बसेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार १७:१२