सूचनाको शक्ति - The Power Of Information

        

राप्ती नदीमा बाढी

राप्ती नदीमा आएको बाढीले बाँकेका ३ सयभन्दा बढी घर डुबायो

उच्च सतर्कता अपनाउन सूचनामार्फत आग्रह

लगातारकाे वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् ।

अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँकेकाे डुडुवा गाउँपालिका वडा नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् ।

बाढी घरभित्र पसेपछि अन्नपात, कपडा भिजेर क्षति भएको स्थानीयवासी गणेश गुप्ताले बताउनुभयो । राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँका स्थानीयवासी त्रसित भएका छन् । घरभित्र पानी पसेपछि यहाँका स्थानीयवासी गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन् ।

अत्यावश्यक सामाग्री लिएर स्थानीयवासी आश्रयस्थलमा बसिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अहिले पनि पानी परिरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ ।

अविरल वर्षाले बाँकेको कुसुममा रहेकाे राप्ती नदीमा पानीको सतहले ६ दशमलव ६३ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।

अहिले पनि पानी परिरहेकाले खतराको तह बढ्न सक्ने जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।

राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दीगाउँलगायत ठाउँमा बाढी आउँछ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरेको छ ।

बाढी र डुबान सुरु भएपछि त्यस आसपास क्षेत्रका सर्वसाधारण अहिले त्रसित् छन् ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार १७:०६