सूचनाको शक्ति - The Power Of Information

        

देशभर अविरल बर्षा

राप्ती, बबई र नारायणीमा जलस्तर खतरामाथि, सुरक्षा निकाय ‘हाइअलर्ट’मा

बाढी सूचना केन्द्रका अनुसार खतराको तह पार गरेपछि तल्लो तटिय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा खतराको तह पार गरेको छ । लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह ६ दशमलव ३२ मिटर पार गरेको हो ।

राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । आज बिहान ६ः३० बजे कुसुममा नदीको सतह ६ दशमलव ३२ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ ।

अहिले पनि निरन्तर वर्षा भइरहेकाले खतराको तह बढ्न सक्ने जनाइएको छ । राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गङ्गापुर, होलिया, बेतहनी, कम्दी गाउँ लगायत स्थानमा बाढी आउँछ ।

जिल्ला विपद् व्यवस्थापन समितिले बुधबार साँझ एक सूचना निकालेर नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सूचनामा राप्ती नदी तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

सूचनामा नदी किनारको तल्लो तटीय क्षेत्रमा नदी किनारमा जाने, दाउरा छोप्ने, नुहाउने, माछा मार्नेजस्ता कार्य नगर्न पनि उल्लेख गरिएको छ । अविरल वर्षाले बाँके जिल्लाका विभिन्न स्थान अहिले जलमग्न भएका छन् ।

यस्तै बर्दिया क्षेत्रमा बबई नदीले खतराको तह पार गरेको छ । ५.५० मिटर खतराको तह रहेकोमा अहिले यहाँ नदीको तह ६.८६ मिटर पुगेको छ । बाढी सूचना केन्द्रका अनुसार खतराको तह पार गरेपछि तल्लो तटिय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

यस्तै अविरल वर्षाकै कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । बाढी सूचना केन्द्रका अनुसार आज बिहान ७ः३० बजे नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो ।

नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको छ । ९ दशमलव ८ मिटर पुगेपछि सतर्कता तह पार हुन्छ । नारायणगढ क्षेत्रमा बिहान ६ बजे नै पानीको सतह ९ दशमलव ८ मिटर पुगेको थियो ।

११ मिटर पुग्नासाथ खतराको संकेत मानिन्छ । यस्तै देवघाट मापन केन्द्रमा पनि पानीको बहाव ७ दशमलव ४ मिटर पुगेको छ । ७ दशमलव ३ मिटर पुगेपछि सतर्कता तह पार हुन्छ । देवघाटमा ९ मिटर पानीको बहाव पुगेपछि खतराको सङ्केत मानिन्छ ।

नारायणीमा पानीको बहाव आज यस वर्षकै उच्च रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ । पानी निरन्तर परिरहेकाले बाढीको सतह बढ्ने क्रममा छ । नारायणीमा बहाव बढेपछि पश्चिम चितवनका नदी तटीय क्षेत्र जोखिममा छन् ।

चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन उक्त केन्द्रले जनाएको छ । चितवन, नवलपरासी लगायत जिल्लामा रातभर पानी परेकाले नारायणी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी आनन्दवंश न्यौपानेले राप्ती नदीमा पानीको सतह उच्च भएपछि जिल्लाका सबै सुरक्षा निकायलाई ‘अलर्ट’ रहन निर्देशन दिइएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार ०८:५५